कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु

काठमाडौं, वैशाख १५ । आजदेखि कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ । पहिलो दिन आइतबार अंग्रेजी विषयको परीक्षा भइरहेको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षाका लागि ४ लाख २८ हजार ५२ जना परीक्षार्थीले फाराम भरेका छन् । सबैभन्दा कम मनाङमा ५९ जना र सबैभन्दा धेरै काठमाडौमा ६२ हजार ५ सय ८८ परीक्षार्थीले फाराम भरेको बोर्डले जनाएको छ ।

देशभर १ सय ७ परीक्षा केन्द्र कायम गरिएको बोर्डले जनाएको छ । परीक्षालाई मर्यादित बनाउन १३ हजार २ सय ८४ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । परीक्षाको नियम उल्लंघन गर्नेलाई छ महिना कैद र एक लाख रुपियाँसम्म जरिवाना गरिने बोर्डले जनाएको छ ।

यसैबीच प्रश्नपत्रको सुरक्षाका लागि प्रश्नपत्र राखिएको कोठामा सीसीटीभीमार्फत निगरानी गरिएको पनि बोर्डले जनाएको छ । परीक्षामा अनियमितता हुन नदिन यसपटकबाट थप कडाइ गर्ने गरिएको  हो । १२ कक्षाको परीक्षा वैशाख २९ गतेसम्म चल्नेछ भने ११ कक्षाको बार्षिक परीक्षा पनि वैशाख २९ गतेबाट नै सुरु हुनेछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: