श्रीमती मार्न खोजेको आरोपमा विप्लव निकट नेकपा युवा संगठनका जिल्ला अध्यक्ष पक्राउ

अछाम, वैशाख १६ । श्रीमतीलाई घाटी थिचेर मार्ने कोशिस गरेको कसुरमा विप्लव निकट नेकपाका युवा संगठनका जिल्ला अध्यक्ष पूर्णबहादुर भण्डारीलाई पक्राउ परेका छन् । उनी सो पार्टीका अछाम जिल्ला कमिटी सदस्य हुन् । मंगलसेन नगरपालिका, ११ खिमडा निवासी भण्डारीकी श्रीमती लक्ष्मी कुमारी खड्का (भण्डारी) ले गत २१ फागुनमा श्रीमानविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत प्रहरीमा उजुरी दिएकी थिइन् । उनले प्रहरीमा दिएको उजुरीमा श्रीमानले आफूलाई विभिन्न आरोप लगाउँदै यातना दिँदै आएको र ज्यान मार्ने धम्कीसहित कुटपिट गरेको भन्दै ज्यानको सुरक्षा मागेकी थिइन् ।

श्रीमतीले कारबाहीका लागि प्रहरी गुहारेपछि गत २० फागुनदेखि फरार रहेका भण्डारीलाई प्रहरीले सुराकीका आधारमा पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न जिल्ला अदालत अछामले गत २३ फागुनमा आदेश दिएको थियो । पक्राउ परेपछि उनलाई ज्यान मार्ने उद्योग कसुर मुद्दामा कारबाही सुरु गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीले बताए । नयाँ पत्रिका दैनिकबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: