सिके राउतले दिए निर्वाचन आयोगमा दल दर्ताको निवेदन

काठमाडौं, बैशाख १६ । सरकारसँग दुई महिनाअघि ११ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा अवतरण गरेका सिके राउतले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छन् । ३५ जना केन्द्रीय सदस्यसहित राउत नेतृत्वको जनमत पार्टी आइतबार आयोग पुगेको हो ।

स्वतन्त्र मधेस गठबन्धनका नाममा पृथकतावादी गतिविधि गरिरहेका राउतले गत २४ फागुनमा संविधानबमोजिम गतिविधि गर्ने सहमति गरेका थिए । ‘यतिन्जेल दल दर्ताकै तयारीमै थियौँ, विधान लेख्नेदेखि सदस्यता वितरणसम्मको काममा केही समय लाग्यो,’ जनमत पार्टीका केन्द्रीय सदस्य चन्दन सिंहले भने, ‘यसअघि संगठन विस्तार र अन्य विभिन्न कामको चापले दल दर्ता प्रक्रियामा जान सकिरहेका थिएनौँ । अहिले विधान र केन्द्रीय समिति संविधानअनुसार समावेशी बनाएर आयोगमा निवेदन दिएका छौँ ।’

सरकारसँग सहमति गरेलगत्तै मधेस झरेका राउतले गठबन्धनको भेलाबाट जनमत पार्टी घोषणा गरेका थिए । आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले भने, ‘केन्द्रीय समितिसहित आयोगमा निवेदन आएको छ ।’ ४५ दिनभित्र संविधानअनुरूप मापदण्ड पुगे–नपुगेको जाँच गरी प्रमाणपत्र दिइने प्रवक्ता खरेलले नयाँ पत्रिकालाई जानकारी दिए ।

जिल्ला दौडाहा, आमसभा र अभियान
पार्टी निर्माणपछि राउतले संगठन विस्तारलाई प्राथमिकता दिएका छन् । उनले पूर्वमा मोरङ, सिरहा, सप्तरी, पर्सा, बारा, महोत्तरी, रौतहट हुँदै पश्चिममा नवलपरासी रुपन्देहीदेखि बाँकेसम्म टोलदेखि जिल्लास्तरसम्मका भेला र सम्मेलन गरेका छन् । स्थानीय तहमा संगठन निर्माणसँगै जनमत पार्टीले सुझाब संकलन र प्रचारप्रसार तीव्र बनाएको सिंहले बताए ।

सिरहा, नवलपरासी र बाँकेमा ठूला आमसभा पनि भए । बारा र पर्सामा गत चैतमा आएको हावाहुरीपछि घाइतेको उद्धार, अस्थाई टहरा निर्माण, सरसफाइ, घाइतेका लागि रक्तदानलगायतका कार्यमा राउतले कार्यकर्ता परिचालन गरेका थिए । राउत हावाहुरीपीडित क्षेत्रमा गएर भेटघाट तथा राहत वितरण गरेका थिए । जनमत पार्टीले मधेसमा स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको थियो ।

मधेसकेन्द्रित दलहरूको चर्को आलोचना
आफ्नो पक्षमा माहोल बनाउन राउत मधेसकेन्द्रित अरू दलप्रति आक्रामक ढंगले प्रस्तुत हुने गरेका छन् । सत्ता र शक्तिमा रहेका दल भ्रष्टाचारमा लिप्त रहेको र सत्ताभन्दा बाहिर रहेका दलले मधेसका लागि केही गर्न नसकेको उनको आरोप हुने गरेको सहभागी बताउँछन् । चैतको हावाहुरीको क्षतिमा २ नम्बर प्रदेशमा संयुक्त सरकार बनाउने राजपा र फोरमले केही नगरेको भन्दै उनले कडा शब्दमा आलोचना गरे । ‘बहानाको पनि हद हुन्छ । हरेक कुरामा केन्द्रलाई दोष दिएर आफ्नो असक्षमता र भ्रष्टाचार ढाक्न खोज्ने ? उनले प्रश्न गरेका छन्, ‘के प्रदेश सरकार स्वराजीहरूको हत्या गर्न, पक्राउ गर्न र दमन गर्न मात्रै हो ?’

उनले सामाजिक सञ्जाल फेसबुकमा ‘भोजमा ४ करोड सक्ने मुख्यमन्त्रीले हावाहुरीपीडितलाई भात पनि खुवाउन नसकेको’ भन्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको आलोचना गरे । राउतले संघीय सरकारमा सहभागी संघीय समाजवादी फोरमलाई ‘जनता घोषणा खाएर बाँच्न नसक्ने’ भन्दै विरोध गरेका छन् । फोरम अध्यक्ष उपेन्द्र यादवलाई राउतको प्रश्न छ, ‘केन्द्र सरकारमा पनि तपाईं, प्रदेश सरकारमा पनि तपाईं, स्वास्थ्यमन्त्री पनि तपाईं अनि दोष कसको ?’

उनी केही उद्योगीविरुद्ध पनि आक्रोशित देखिन्छन् । ‘राज्यबाट संरक्षित केही उद्योगीले २०औँ गुणा मुनाफा लिएर जनताको रगत चुसेको भन्दै त्यस्ता व्यापारीका सामान बहिष्कार गर्नुपर्ने र ट्रक कब्जामा लिएर जनतालाई बाँड्नुपर्ने’ अभिव्यक्तिसमेत दिएका छन् । व्यापक आलोचनासहित संगठन विस्तारमा लागेका राउतका गतिविधिले अन्य मधेसवादी राजनीतिक दलभित्र पनि तरंग पैदा गराएको छ ।

मुद्दा फिर्ताका लागि सरकारलाई सूची
नेता चन्दन सिंहले आफ्ना कार्यकर्ताविरुद्धका मुद्दा फिर्ता गर्न सरकारलाई ११ वैशाखमा सूची बुझाएका छन् । सरकार र सिके राउतबीचको सहमतिमा राउतका कार्यकर्तालाई लागेका सबै मुद्दा फिर्ता लिने बुँदा उल्लेख थियो । सोहीबमोजिम राउतले मुद्दा फिर्ताका लागि कार्यकर्ताको सूची गृह मन्त्रालयमा बुझाएका छन् । उक्त सूचीमा सिके राउतको नाम पनि समावेश छ ।

सिके राउत र उनका कार्यकर्ताविरुद्ध सरकारले विभिन्न जिल्ला प्रशासन कार्यालय र अदालतमा सार्वजनिक अपराध, बालबालिकाविरुद्धको अपराध, निर्वाचनसम्बन्धी कसुर, राज्य विप्लव र राज्यद्रोहसम्मका मुद्दा छन् । गृह मन्त्रालयले राउतका कार्यकर्तामाथि लागेका मुद्दा यथाशीघ्र फिर्ता लिने आश्वासन दिएको छ ।

मधेसकेन्द्रित दलहरू सिकेसँग सशंकित
पूर्वी मधेस र पश्चिम तराईमा राउतले संगठन विस्तार अभियान थालेपछि मधेसकेन्द्रित अरू दल सशंकित भएका छन् । आन्तरिक किचलोमा व्यस्त राजपा र सरकारमा रहेको फोरम राउतको आक्रामक संगठन विस्तार गतिविधिबाट चनाखो भएका छन् । राजपाले पदाधिकारी बैठकमै सिकेबारे छलफल गरेको छ भने फोरमका नेता पनि नेतृत्वप्रति असन्तुष्ट देखिन्छन् । सिके राउतले प्रतिस्पर्धात्मक राजनीतिमा आउने निर्णय गरेसँगै यी दुई दलमा एकता प्रयाससमेत सुरु भएको छ । यो समाचार आजको नयाँ पत्रिकाबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: