ताजाकोटमा अज्ञात रोग फैलिएपछि शिविर संचालनमा

सिमकोट वैशाख १६ । अज्ञात रोग फैलिएको ताँजाकोटमा सोमबार बिहानैबाट तीन ठाउँमा शिविर संचालन सुरु भएको छ ।

सोमबार बिहान शिविर संचालन ताजाँकोट गाउँपालिका वडा नं १ को भैसामाझ, ३ को छप्रेला र चारको गोठेलबाडामा भएको हो। शिविरमा बिरामीहरु चेकजाँचका लागि आउने क्रम सुरु भएको स्वास्थ्यकर्मी मोतिलाल जैशीले बताए । प्रत्येक शिविरमा चिकित्सकको उपस्थितीमा चेकजाँच कार्य भइ रहेको उनले बताए ।

आइतबारबाट रोग प्रभावित क्षेत्रमा नेपाल सरकार गृह मन्त्रालय र कर्णाली प्रदेश सरकारको सहयोगमा औषधी, ल्याब र बिशेषज्ञ चिकित्सक सहित आठ जनाको स्वास्थ्यकर्मीको टोली हेलिकोप्टरमा आएको थियो । टोली आएलगत्तै उपचार सुरु भएको थियो ।

अघिल्लो दिन भएको शिविरमा एक सय ३२ जना बिरामीको चेकजाँच गरिएकोमा ७६ महिला तथा ५६ जना पुरुष भएको आरआरडी टिमका सम्पर्क व्यक्ति श्याम आचार्यले बताए । तीमध्ये रुघाकोकीमा ७४ जना, झाडापखालाका ६ जनाको उपचार भएको उनले बताए । वडा अनुसार वडा नं. १ का ७ जना, वडा नं. २ का ४७, वडा नं. ३ का ७६ जना, वडा नं. ४ का ५ र वडा नं. ५का ६ जनाको उपचार भएको थियो ।

कमेन्ट गर्नुहोस्