जमीनमुनि पेट्रोलियम पाइपलाइन विछ्याउन पाँच किमी मात्र बाँकी

वीरगञ्ज, वैशाख १६। दक्षिण एशियाको पहिलो क्रस बोर्डरको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन अन्तर्गत अब पर्सा राष्ट्रिय निकुञ्जभित्रको ५ किलोमिटर क्षेत्रमा मात्र रुखकाटी जमीनमुनि पेट्रोलियम पाइपलाइन बिछ्याउने काम बाँकी रहेको छ ।

बहुप्रतिक्षित आयोजनाका रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म ओछ्याउने पेट्रोलियम पाइप लाइन बिछ्याउने काम धमाधम भइरहेको परियोजना कार्यालय सिमराले जानकारी दिएको छ ।

नेपालको लाइफलाइनका रुपमा रहेको भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म ७० किलोमिटर लम्बाइको सो पाइपलाइन बिछ्याउने काम ६५ किलोमिटरसम्म सम्पन्न भइसकेको र अब करीव पाँच किलोमिटर क्षेत्रमा मात्र काम बाँकी रहेको छ । पाइपलाइन बिछ्याउने क्षेत्रमा करीव ९ किलोमिटर पर्सा राष्ट्रिय निकुञ्ज पर्ने भएकाले सो क्षेत्रमा ६ हजार ५०० ठूलासाना रुख काटिने काम धमाधम भइरहेको पेट्रोलियम पाइपलाइन विस्तार आयोजना सिमराका इञ्जिनीयर शरद पौडेलले बताए ।

उनले निकुञ्जभित्रको ९ किलोमिटर क्षेत्रमध्ये चार किलोमिटर क्षेत्रमा रुख कटान गरी पाइपलाइन बिछ्याउने काम भइसकेको र बाँकी रहेको ५ किलोमिटर क्षेत्रमा पर्ने रुख कटान गरी चाँडै नै पाइप बिछ्याउने काम सम्पन्न भएपछि असारसम्ममा पाइपलाइनबाट पेट्रोलियम पदार्थ आउने जानकारी दिए ।

पाइप लाइन विस्तार गर्ने क्रममा निकुञ्ज क्षेत्रभित्र काटिएको रुख भएको ठाउँमा पुनः बृक्षारोपण गर्न नेपाल आयल निगमले निकुञ्जलाई पाँच वर्षसम्मको लागि १ लाख ४७ हजार २०० रुख रोप्न रू।१ करोड ३९ लाख ६७ हजार ५२ क्षतिपूर्ति दिएको सहायक संरक्षण अधिकृत अशोककुमार रामले बताए ।

गत चैतको अन्तिम साता भारत भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीको हैदरावाद हाउसबाट संयुक्तरुपमा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेपछि यसले गति लिँदै जमीनमुनि पाइप ओछ्याउने काम अन्तिम चरणमा पुगेको हो ।

सो पाइपलाइन भारतीय आयल निगमको रू।२७५ करोडको लागतमा निर्माण भइरहेको छ । जसमध्ये भारत सरकारको २ सय करोड तथा संघीय सरकारको रू. ७५ करोड लगानी रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन कार्यालय सिमराले जानकारी दिएको छ ।

पाइपलाइन बिछ्याउने काम सम्पन्न भएपछि पेट्रोलियम पदार्थ भण्डारण गर्नको लागि अमलेखगञ्ज आयल निगमको डिपोमा ३ हजार ९०० किलो लिटर क्षमता भएको दुई ओटा तथा ४ हजार १०० किलोलिटर क्षमता भएको दुई गरी चार ट्यांकर मर्मत, सम्भार द्रुत गतिमा भइरहेको छ । सो पाइपलाइन निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि प्रतिघण्टा २ लाख लिटर पेट्रोलियम पदार्थ पाइप लाइनबाट भित्रिने छ ।

जमीनमुनि साढें दुई मिटर तल तथा पौने ११ इन्चको माइलस्टिल भन्ने कालो रङको पाइप राखिएकोले खिया लाग्दैन । यो परियोजना सञ्चालनमा आएपछि नेपाल भारतको रक्सौल नाकामा देखिने जामको समस्या हट्नुका साथै पेट्रोलियम पदार्थमा हुने चोरी तथा अनियमितता नियन्त्रण हुने छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: