आइपीएलः रोहित शर्मालाई जरिवाना

काठमाडौं, वैशाख १६ । इन्डियन प्रिमियर लिग (आइपीएल) मा मुम्बई इन्डियन्सबाट कप्तानी सम्हालिरहेका रोहित शर्मामाथि खेलभावना विपरीत अनुचित व्यवहारका लागि जरिबाना लगाइएको छ । आइतबार राति कोलकाता नाइट राइडर्स विरुद्धको खेलमा आउट भएपछि रोहितले अम्पायरको निर्णयको विरोध जनाउँदै स्टम्पमा ब्याटले हानेका थिए ।

रोहितको यो व्यवहारलाई आइपीएलको आचारसंहिता उल्लंघन मान्दै उनीमाथि खेलको शुल्कको १५ प्रतिशत जरिबाना लगाइएको हो । यो खेलमा रोहित ह्यारी गुर्नेको बलमा एलबीडब्ल्यू आउट भएका थिए । रोहितले अम्पाएरको निर्णयलाई नकार्दै डीआरएस लिएका थिए र थर्ड अम्पायरले पनि उनलाई आउट नै दिए । अम्पायरको निर्णयबाट असन्तुष्ट भएका रोहितले मैदान छोड्नुपूर्व नन स्ट्राइकको स्टम्पमा ब्याटले हानेका थिए ।

आइतबार भएको खेलमा मुम्बईले कोलकातासँग ३४ रनको हार बेहोरेको थियो भने कोलकत्ताले लगातार ६ खेलको हारलाई तोड्न सफल भएको छ ।

कोलकाताले पहिले ब्याटिङ गर्दै २ सय ३२ रनको विशाल योगफल तयार पारेको थियो । २ सय ३३ रनको लक्ष्य पछ्याएर ब्याटिङमा उत्रिएको मुम्बईले २० ओभर खेल्दै १ सय ९८ रनमात्र बनाउन सक्यो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: