के होला संयुक्त राज्य अमेरिका विखण्डित भयो भने?

वैयक्तिक स्वतन्त्रता, विश्वशक्ति राष्ट्रको नागरिक हुनुको गौरवानुभूति र चरम भौतिक विकास, संयुक्त राज्य अमेरिकालाई एकीकृत राखिराख्ने कयौं कारणहरू विद्यमान छन् । तर पनि पछिल्लो केही समय यता अमेरिकी जनताबीच ध्रुवीकरण तीव्र गतिमा बढिराखेको छ । यति मात्र होइन देश भित्र विखंदंका झिना स्वरहरू बिस्तारै बलिया हुँदै गैराखेका छन् ।

पछिल्लो समय हेर्दा अमेरिकाका दुई प्रमुख राजनैतिक दल- रिपब्लिकन र डेमोक्र्याटिकका समर्थकहरूबीच कट्टरपाना बढ्दै गैराखेको छ । अमेरिकी इतिहासका जानकारहरूले अहिलेको अवस्थालाई धेरथोर लिंकन युगको गृहयुद्धपछिको अवस्थासँग तुलना गरिराखेका छन् ।

क्यालिफोर्निया विश्वविद्यालयका राजनीतिशास्त्री बर्नाड ग्राफम्यानका अनुसार अमेरिकाको सदनमा अहिले देखिएको ध्रुवीकरण पछिल्लो सय वर्षमा देखा परेको थिएन ।

यस्तो खाले ध्रुवीकरण स्पष्ट रूपमा देशकै सर्वाधिक ठुलो राज्य क्यालिफोर्नियामा देखा पर्दैछ । बितेका केही दशक यता क्यालिफोर्निया र अन्य अमेरिकी नागरिकहरूबीच मतभेद गहिरिंदै गैरहेको छ ।

यस समस्याको समाधानको लागि पछिल्लो समय निकै सुझावहरू आएका छन् जसमा क्यालिफोर्नियालाई ससाना राज्यहरूमा विभाजित गर्नेदेखि स्वतन्त्र देश बनाउनेसम्मका सुझाव रहेका छन् ।

बोस्टनस्थित टफ्ट्स विश्वविद्यालयमा प्राध्यापन गराउँदै गरेकी मोनिका टफ्ट भन्छिन् क्यालिफोर्नियाका आम जनतालाई अमेरिकाको केन्द्र सरकाले उनीहरूका हितको रक्षा गर्न नसक्ने लाग्न थालेको छ । उनीहरू भन्छन्- क्यालिफोर्निया यति ठुलो राज्य छ कि यसको समुचित आर्थिक विकास त्यस बेला मात्रै सम्भव हुनेछ जब यसलाई ससाना राज्यहरूमा विभाजित गरियोस ।

क्यालिफोर्नियालीहरू कतिपय मुद्दामा अन्य अमेरिकीहरू भन्दा भिन्न मत राख्ने गर्दछन् । यसका लागि स्वतन्त्र क्यालिफोर्नियाको सपना देख्ने एउटा समूह समेत सक्रिय रूपमा लागि परेको छ ।

अलग्गिए के?

हुन त क्यालिफोर्निया संयुक्त राज्य अमेरिकाबाट अलग हुने कुनै सम्भावना हाललाई छैन । किन भने अमेरिकी संविधानमा यस्तो कुनै पनि प्रावधान राखिएको छैन । तर पनि यदि क्यालिफोर्निया अमेरिकाबाट अलग्गिएर छुट्टै देश बन्छ भने यसको असर अमेरिकामा मात्र होइन समग्र विश्वमै पर्ने छ ।

अमेरिकाको संविधानमा कुनै पनि राज्यलाई स्वतन्त्र हुने निर्णय लिने या त्यस किसिमको कुनै पनि बहसको लागि स्थान छैन । क्यालिफोर्नियालीहरूले पनि आफूलाई अमेरिकाबाट अलग हुने माग कहिल्यै गरेका छैनन् । तर यदि क्यालिफोर्निया कथंकदाचित अमेरिकाबाट अलग्गियो भने त्यो कस्तो अवस्था होला त ?

अमेरिका फेरि गृहयुद्धको चपेटामा आउने सम्भावना कति ?

अहिले अमेरिकामा गृहयुद्धको कुनै सम्भावना देखिन्न । तर यदि कुनै पनि देश टुक्रिन्छ भने त्यहाँ हिँसा भड्किनु स्वाभाविक नै हो । अमेरिकामै आजभन्दा १५७ वर्षअघि त्यस्तै भएको थियो । कालाहरूलाई दास बनाइराख्नुपर्छ भन्ने कुराको समर्थन गर्ने दक्षिणका राज्यहरूले संयुक्त राज्य अमेरिकाबाट अलग हुने घोषणा गरेपछि त्यहाँ भड्किएको हिंसाले गृहयुद्ध को रुप लिएको थियो ।

डेढ शताब्दी पहिले चार वर्षसम्म चलेको उक्त गृहयुद्धमा ६ लाख २० हजार अमेरिकी नागरिक मारिएका थिए भने घाइतेहरूको सङ्ख्या बीसौं लाखमा रहेको थियो ।

उसरी पनि संसारमा यस्ता थुप्रै उदाहरण छन् जहाँ कुनै देशको विभाजनपछि भड्किएको हिंसामा ठुलो सङ्ख्यामा मानिस मारिएका छन् । सन् १९४७ मा मात्रै विभाजित भएका दक्षिण एसियाका दुई देश भारत र पाकिस्तानमा भड्किएको हिंसामा १० लाख भन्दा बढी मानिस मारिएका थिए ।

त्यस्तै सन् १९७१ मा पाकिस्तानबाट अलग्गिने घोषणा गरेको बंगलादेशमा भएका हिंसात्मक घटनाहरू पनि इतिहासका कुनै दुःस्वप्न भन्दा कम छैनन् । त्यस्तै अफ्रिकी देश इथियोपियाबाट इरिट्रियाले अलग्गिने घोषणा गरेपछि त्यहाँ ३० वर्षसम्म युद्ध चलिरह्यो र दुवै देशले विनाशको अभूतपूर्व अनुभूति प्राप्त गरे ।

तर इतिहासमा शान्तिपूर्वक ढंगले पनि यस्ता मामिला सल्टिएका उदाहरण छन् । १९९३ मा चेकोस्लोभाकिया टुक्रिएर चेक र स्लोभाक रिपब्लिक बन्दा यो समस्या शान्तिपूर्वक ढङ्गले सुल्झाइयो । त्यस्तै लाग्ने एउटा अर्को प्रक्रियामा हालै ब्रिटेन पनि युरोपियन युनियनबाट अलग्गिएको थियो ।

राजनैतिक समीकरणको बेहाल

यदि क्यालिफोर्नियाले अमेरिकाबाट अलग्गिने फैसला गरेको खण्डमा रिपब्लिकन पार्टीका समर्थकले त खुशी नै मनाउनेछन्, किनभने यहाँबाट उसले नाम मात्रको मत पाउने गर्दछ । तर डेमोक्र्याटिकहरूले भने यस्तो निर्णयको स्वागत गर्ने छैनन् किन कि सबैभन्दा ठुलो अमेरिकी राज्यमा डेमोक्र्याटिक मतको बाहुल्य रहेको छ । यसो भएको खण्डमा डेमोक्र्याटिक पार्टीका उम्मेदवारलाई अमेरिकाको राष्ट्रपति बन्न निकै हम्मे हम्मे पर्ने छ ।

तर हालसम्म यस्तो कुनै अवस्था सिर्जना भएको छैन जसले क्यालिफोर्नियालाई यस्तो विस्मयकारी निर्णय लिन अभिप्रेरित गरोस ।

अमेरिकी राजनीतिको पावरहाउस

देशको सबैभन्दा बढी जनसंख्या भएको राज्य र डेमोक्र्याटहरूको गध क्यालिफोर्निया अमेरिकाबाट अलग्गिएको खण्डमा देशभरी रिपब्लिकन पार्टीको प्रभुत्व स्थापित हुन जानेछ र अमेरिकी सदनमा रिपब्लिकन पार्टीले बहुमत साबित गर्न खास मेहेनत गर्नुपर्ने छैन ।

अमेरिकी राजनीतिका जानकारहरूका अनुसार १९९० को दशकमा अमेरिकाको राष्ट्रपति पद सम्हाल्न पुगेका क्लिन्टन र ओबामा जस्ता नेताहरूको जीतमा क्यालिफोर्नियाको निकै ठुलो योगदान रहेको छ ।

क्यालिफोर्नियाका मतदाताहरू आफूलाई तुलनात्मक रूपमा बढी प्रगतिशील र उदार ठान्ने गर्दछन् । यसले गर्दा डेमोक्र्याट पार्टीको जनमत यहाँ बलियो रहेको छ । यदि यो राज्य अमेरिकाबाट छुट्टिएको खण्डमा अमेरिकाका अन्य राज्यमा बचेका केही डेमोक्र्याट समर्थकहरूले पनि उदारवाद त्यागेर कट्टरपन्थी विचारधारा अंगाल्न सक्नेछन् ।

ठीक यस्तै अवस्था ५० र ६० को दशकमा राष्ट्रपति ड्वाइट डी. आइजनहावरको समयमा देखा परेको थियो । त्यसबेला डेमोक्र्याटिक पार्टीले मध्यमार्गी विचारधारा अपनाएर देश विकासलाई गति प्रदान गरेको थियो ।

अर्थव्यवस्थाको बेहाल  

क्यालिफोर्निया अमेरिकाबाट अलग्गिएको खण्डमा अमेरिकी अर्थव्यवस्था धर्मराउने छ । तर क्यालिफोर्निया भने अलगिएर पनि संसारको पाँचौं ठुलो अर्थव्यवस्था हुनेछ । उसको आर्थिक सामर्थ्य ब्रिटेनभन्दा बढी अर्थात लगभग २.७ खर्ब डलर हुनेछ । अमेरिकी सरकारले सबैभन्दा बढी कर यहींबाट संकलन गर्ने गर्दछ । यसो भएको अवस्थामा अमेरिकाको राजश्व निकै ठुलो मात्रामा घट्न जानेछ ।

मौद्रिक अर्थशास्त्रका जानकारहरू भन्छन्- त्यस्तो अवस्थामा अमेरिकी डलरको शक्ति क्षीण हुनेछ र अमेरिकी डलरको स्थान युरोपियन युनियनको मुद्रा युरो या चिनियाँ मुद्रा युआनले लिनेछ ।

क्यालिफोर्निया अलग्गिएको अवस्थामा अमेरिकाको हैसियत महाशक्ति राष्ट्रको रहने छैन । ऊ यस्तो अवस्थामा आफ्ना सहयोगी देशहरूमा निर्भर हुन जानेछ । देशमा दक्षिणपन्थी विचारधारा हावी हुनेछ र उसको सम्बन्ध रुस र हंगेरी जस्ता देशहरूसँग राम्रू हुनेछ । त्यस्तियो अवस्थामा अमेरिकाको छिमेकी देश क्यानाडासँगको सम्बन्ध भने अहिलेको तुलनामा निकै खराब हुनेछ र त्यस्तै अवस्था अर्को छिमेकी देश मेक्सिकोसँगको सम्बन्धको पनि हुनेछ ।

उता क्यालिफोर्निया भने उदारवादी देशहरूको खेमासँग जोडिन पुग्नेछ । त्यस बेला विश्वमा अहिलेको जस्तो अमेरिका चीन ध्रुवीकरण रहने छैन बरु विश्वमा अमेरिका, चीन, क्यालिफोर्निया र भारत जस्ता शक्तिशाली देशहरूबीच नयाँ ध्रुवीकरण देखा पर्नेछ ।

क्यालिफोर्निया अलग्गिएर गएको खण्डमा वैश्विक तापमान वृद्धि र प्रदूषण नियन्त्रणको क्षेत्रमा भने आशाजनक सुधार देखा पर्नेछ । तर अमेरिकामा बढ्दो कट्टरपन्थी सोचले वैश्विक एकतामा चुनौतीको काम गरिरहने छ ।

शरणार्थीहरूका लागि स्वर्ग

क्यालिफोर्निया अमेरिकाकै सबैभन्दा उदारवादी राज्य हो । यदि क्यालिफोर्निया स्वतन्त्र देश बन्छ भने संसारभरिबाट अमेरिका पस्ने शरणार्थीहरूमध्ये धेरैले क्यालिफोर्निया प्रवेश गर्ने दाउ हेर्नेछन् । यस्तो अवस्थामा सिलिकन भ्याली जस्ता व्यवसायिक इलाकाहरूमा नयाँ नयाँ प्रतिभाहरू भित्रिने छन् र विकासको नयाँ दिशा तय हुनेछ ।

क्यालिफोर्नियामा ठुलो संख्यामा ल्याटिन अमेरिकी मूलका मानिसहरूको बसोबास रहेको छ । यहाँको आर्थिक समृद्धिमा उनीहरूको ठुलो योगदान रहेको छ । अलग्गिएको खण्डमा क्यालिफोर्नियामा आप्रवासीसम्बन्धी नियम अझै खुकुला हुनेछन् ।

यस्तो अवस्थामा क्यालिफोर्निया भित्रै पनि उत्तर र दक्षिणबीच द्वन्द बढ्नसक्ने छ । हाल क्यालिफोर्नियाको दक्षिण भेगका मानिसहरू आप्रवासीको मामलामा उदार छन् भने उत्तरी भेगमा बसोबास गर्नेहरू यसमाथि प्रभावकारी नियन्त्रण हुनुपर्ने धारणा राख्ने गर्दछन् ।

क्यालिफोर्निया अलग्गिनुको अर्को जोखिम अमेरिकी अखण्डताको लागि हुनेछ । त्यो के भने यसलाई नजिरको रूपमा लिँदै  म्यारिल्याण्डदेखि मेन र पेन्सिलभेनिया जस्ता कयौं अन्य उदारवादी राज्यहरू पनि अमेरिकाबाट अलग्गिने माग अगर्ण सक्ने छन् । किनभने क्यालिफोर्निया अलग हुने बित्तिकै अमेरिकामा रुढिवादी सोच हावी हुनेछ जसले गर्दा उदारवादी राज्यहरू स्वतन्त्रताको विकल्पबारे सोच्न बाध्य हुनेछन् ।

यस्तो निष्कर्ष निकाल्नु पछाडि २० औं शताब्दीको एउटा महत्वपूर्ण ऐतिहासिक घटनालाई साक्षको रूपमा लिन सकिन्छ । नब्बेको दशकको आरम्भमा सोभियत संघको विघटनको समयमा यस्तो देखा परेको थियो । सुरुमा लात्भिया, लिथुआनिया र एस्टोनियाले रुसबाट अलग्गिने घोषणा गरेका थिए । पछि जर्जिया, युक्रेन र माल्दोभा पनि यसै बाटोमा लागे ।

हुनसक्छ क्यालिफोर्नियासँगै दक्षिणी राज्य फ्लोरिडाले पनि अमेरिकाबाट अलग्गिने घोषणा गरोस । त्यति मात्र होइन टेक्सस राज्यमा समेत यस्तो आवाज उठ्न सक्छ । यस्तो हुँदै गर्दा आर्थिक रूपले सम्पन्न अमेरिकी राज्यहरूमा स्वतन्त्र देश बन्ने महत्वाकांक्षा देखा पर्न सक्छ ।

निष्कर्षमा क्यालिफोर्नियाले अमेरिकाबाट अलग हुने हो भने यो संयुक्त राज्य अमेरिकाको विघटनको सुरुवात हुनसक्छ ।

बिबिसी फ्युचरका लागि रचेल नोभरको आलेखको भाषान्तरण ।

कमेन्ट गर्नुहोस्