भीम रावल भन्छन्, ‘जनताको काममा कम्युनिस्ट सरकार प्रतिबद्ध’

डोटी, वैशाख १६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्व उपप्रधान तथा गृहमन्त्री भीम रावलले जनताका बीचमा गरिएको प्रतिबद्धता पूरा गर्नका लागि नेकपाको सरकार सधैँ प्रतिबद्ध रहेको बताएका छन् । डोटीको दिपायल-सिलगढी नगरपालिका ५ मा घोल्ताडामा बन्न लागेको झोलुंगे पुलको शिलान्यास गर्दै नेता रावलले यस्तो बताएका हुन्।

स्थानीय तहको निर्वाचनका क्रममा गरिएको प्रतिबद्धता स्वरुप भूमिगत खानेपानी र झोलुंगे पुल निर्माणको काम सुरु भएको रावलले बताए। उक्त गाउँको भूमिगत पानी यस भन्दा पहिला रावलले नै उद्घाटन गरे। सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको ५७ लाख ३१ हजार ४११ रुपैयाँ लागतमा बन्न लागेको उक्त पुलले डोटीको पिपल्ला बजार र घोल्ताडा जोड्ने छ।

दिपायल सिलगढी नगरपालिकाले बादी सामुदायका लागि खरिद गरिएको जग्गा आजै रावलले हस्तान्तरण गरेका हुन् । पिपल्ला बजारनजिकै सडक किनारमा बस्दै आएका बादी सामुदायका ३ परिवारलाई नगरपालिकाले जग्गा खरिद गरेको थियो। बादी सामुदायका परिवारलाई सोमबार एक कार्यक्रमका बीचमा नेता रावलले जग्गा धनी प्रमाणपत्र हस्तान्तरण गरे। प्रमाणपत्र हस्तान्तरण गर्दै रावलले भने, ‘कम्युनिस्ट पार्टीको सरकार गरिब तथा बिपन्नका लागि हो।

दिपायल-सिलगढी नगरपालिकाले जे गरेको छ। त्यो राम्रो काम गरेको छ।’ कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीको प्रशंसा गर्दै नेता रावलले भने, निर्वाचनको समयमा महिलाले नगर चलाउन सक्दैन भन्ने धेरै थिए। तर अहिले उहाँ कुनै पुरुषको भन्दा पछि हुनु हुन्न।’

कमेन्ट गर्नुहोस्