जन्ती राख्न विद्यालय नै बन्द

धनुषा, वैशाख १६ । यहाँको एउटा विद्यालयले जन्ती राख्नका लागि पठनपाठन बन्द गराएको छ । नगराइन नगरपालिका–७, देबडिहास्थित राष्ट्रिय निम्न माविले वडाध्यक्ष रामदुलार मुखियाको सिफारिसमा बैशाख १३ र १४ गते बिदा दिएको हो ।

नयाँ शैक्षिक सत्र सुरु भएपछि मात्रै जन्ती राख्नैका लागि ६ दिन विद्यालय बन्द भइसकेको छ । यसअघि वैशाख ३ र ४ तथा ११ र १२ गते बिदा दिइएको थियो । तीनै पटक वडाध्यक्षको लिखित सिफारिसमा बिदा दिइएको प्रधानाध्यापक प्रेमलाल पासवानले बताए । ‘गाउँमा छोरीको विवाह हुँदा स्थानीयले विद्यालयमै जन्ती राख्ने गरेका छन्,’ पासवानले भने ।

कक्षा ८ सम्म पढाइ हुने यो विद्यालय नगराइन नगरपालिकाको ७ र ८ वडाको बीचमा पर्छ । दुवै वडाका स्थानीयले वडाध्यक्ष मुखियाको सिफारिस ल्याउने गरेको पासवानले बताए । शिक्षक बिल्टु मण्डलका अनुसार जन्ती राख्न विद्यालयले नमानेपछि स्थानीयले वडाध्यक्षको लिखित सिफारिस ल्याएका हुन् । जन्ती राख्दा पटक–पटक विद्यालय बन्द गर्नुपरेको उनले बताए ।

नगराइन नगरपालिका–१ को आधारभूत विद्यालय हाँसपट्टी र लक्ष्मीनियाँ गाउँपालिका–३ को जनता निमाविमा पनि विद्यालयमै जन्ती राखेर भोजभतेर गर्ने गरिएको छ । विद्यालयमा जन्ती राख्दा विद्यार्थीलाई मनोवैज्ञानिक असर परेको स्थानीय बताउँछन् ।

गाउँलेका छोरीको विवाहमा आउने जन्ती राख्न ठाउँ नभएकाले विद्यालयमा राख्नुपरेको नगराइन नगरपालिकाका–७ का अध्यक्ष मुखियाले बताए । उनका अनुसार राष्ट्रिय निमाविले अभिभावकसँग छलफल गरी वैशाख १५ गतेपछि विद्यालयमा जन्ती राख्न नपाउने निर्णय गरिसकेको छ । नगराइन–८ का अध्यक्ष सञ्जय राउतले विद्यालयमा जन्ती राख्न नदिन पहल थालेको जनाए । यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रदेशका ८ वटै जिल्लाका सामुदायिक विद्यालयमा जन्ती नराख्न परिपत्र गरे पनि सुधार नभएको प्रदेश २ शिक्षा निर्देशनालयका निर्देशक रामाकान्त शर्माले बताए । पटक–पटक बन्द गरेको पाइएपछि विद्यालयमा जन्ती नराख्न पत्राचार गरिएको उनले बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: