कांग्रेस नेता सिंह भन्छन्, ‘बालुवाटार जग्गा प्रकरणमा देउवाको संलग्नता भए कारबाही हुनुपर्छ’

संखुवासभा, वैशाख १७ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बालुवाटार जग्गा प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवा दोषी देखिए उनलाई कारबाही हुनुपर्ने बताएका छन् ।

प्रेस युनियन संखुवासभाले आज खाँदबारीमा आयोजना गरेको पत्रकार भेटघाटमा सिंहले यस्तो बताएका हुन् । उनले बालुवाटारको सरकारी जग्गा कब्जा र खरिदबिक्री प्रकरणमा जो कोहीको संलग्नता रहेको देखिए पनि कारवाही हुनुपर्ने बताए ।

कांग्रेसका पूर्व महामन्त्रीसमेत रहेका सिंहले भने, ‘कांग्रेसका नेता या अरु कुनै पार्टीका हुन्, यसको निष्पक्ष तवरले छानविन गर्नुपर्छ र कारबाही हुनुपर्छ ।’ उनले सरकार नेकपाका नेताका गल्ती ढाकछोप गर्न लागेको समेत आरोप लगाए । उनले दुई तिहाइ बहुमतको सरकारका गतिविधि कुनै पनि क्षेत्रमा सन्तोषजनक नरहेको दाबी गरे ।

डेढ वर्षसम्म पनि सरकारले प्राथमिकता पहिचान गरेर गति लिन नसकेकाले सबै क्षेत्रमा असन्तुष्टि बढेको बताए । उनले अहिलेको सरकार सबै क्षेत्रमा सरकार असफल हुँदै गएको दाबी गरे ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: