खप्तडमा आउन थाले पर्यटक

डोटी, वैशाख १५ । खप्तड राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा वाह्य पर्यटक भित्रिने क्रममा वृद्धि भइरहेको छ । यहाँका विभिन्न हराभरालेक, तालतलैया तथा प्राकृतिक सम्पदाको अवलोकन गर्न पछिल्लो समय यो निकुञ्ज पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्दै गएको छ ।

प्रदेश सरकार तथा यहाँका विभिन्न स्थानीय तहले खप्तडको विकासका लागि भन्दै करोडौं रकम विनियोजन गरी काम शुरु गराउन थालेपछि आन्तरिक तथा बाह्य पर्यटक भित्रिन थालेको डोटी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नरेन्द्रबहादुर खड्काले बताए ।

उनले भने, “सरकारी तवरबाट बजेट विनियोजन भई काम सुचारु हुनु र पर्यटन व्यवसायबाट पर्यटक भित्र्याउने काम सँगसँगै शुरु भएको छ ।” पछिल्लो समय खप्तड राष्ट्रिय निकुञ्ज पर्यटकको आर्कषणको केन्द्र विन्दु बनेको होटेल व्यवसायी सङ्घ दिपायलका अध्यक्ष राजेन्द्र शाहीले बताउनुभयो । उनले भने, “खप्तड जानका लागि सडक यातायात र खाने बस्ने पूर्वाधारको विकास भएसँगै पर्यटक आउन थालेका छन्, पर्यटक मात्रै भित्र्याउन सके यहाँको विकास आफैं हुने छ ।” खप्तड क्षेत्रमा जाने पर्यटकका लागि आश्रमस्थल, बग्लेकमा होमस्टे र झिग्रानासम्म सडक विस्तार भएसँगै आन्तरिक तथा बाह्य पर्यटक आउन थालेको खप्तड राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत प्रकाशबहादुर शाहले बताए ।

उनले भने, “पछिल्लो समय खप्तड आउने पर्यटकलाई सुविधा पुग्ने खालका संरचना निर्माण भएपछि उनीहरुको आगमनमा वृद्धि भएको हो ।” सहायक संरक्षक अधिकृत शाहका अनुसार खप्तडमा दैनिकजसो कम्तीमा पनि ८०÷९० पर्यटक यहाँ आएर रमाइरहेका भेटिन्छन् ।

खप्तड राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो समय खप्तडमा घुम्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुन थालेको छ । आर्थिक वर्ष ०७३÷७४ मा पाँच हजारले भ्रमण गरेको खप्तडमा आर्थिक वर्ष ०७४÷७५ देखि अहिलेसम्म करीब सात हजार नौजना आन्तरिक तथा वाह्य पर्यटकले खप्तड राष्ट्रिय निकुञ्जमा अवलोकन भ्रमण गरेका छन् ।

विशेषगरी खप्तडमा बाजुरा, अछाम, बझाङ र डोटीका पर्यटक बढी आउने गरेका छन् । निकुञ्जको भ्रमण गर्न आउने पर्यटकबाट चालु आर्थिक वर्षको नौ महीनामा दुई लाख भन्दा बढी राजश्व सङ्कलन भएको छ ।

खप्तड निकुञ्ज क्षेत्रभित्र धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रका साथै विभिन्न जातका जङ्ली जनाबर समेत हेर्न सकिन्छ । त्यहाँ रहेका त्रिवेणी धाम, नागढुङ्गा, खप्तड स्वामीको आश्रम, २२ पाटनलगायत क्षेत्रको भ्रमण गरी मनोरञ्जन लिनसकिन्छ भने खप्तड क्षेत्रमा जेठ महीनामा गङ्गा दशहरा मेला तथा जनैपूर्णिमाका दिन भव्यजात्रा लाग्ने गर्दछ । जात्रा हेर्नका लागि सुदूरपश्चिमका विभिन्न जिल्ला र नेपालका अन्य क्षेत्रबाट समेत पर्यटकको घुइँचो लाग्ने गरेको बग्लेकका स्थानीय दीनेश ठकुल्लाले बताउनुभयो । उनले भने, “खप्तडमा पहिले पहिलेको वर्ष जात्राको समयमा हजारौं पर्यटक आउथे भने यो वर्ष त जात्राको समय भन्दा पनि अहिले बढी पर्यटक आउन थालेका छन् ।”

त्यस्तै खप्तड क्षेत्रमा पर्ने त्रिवेणी धाम, नागढुङ्ङ्गा, सहस्त्र लिङ्ग, खप्तड तालको भ्रमण गर्दा पर्यटकलाई झनै मनमोहक तथा आनन्द आउने गरेको खप्तड मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष रामप्रसाद उपाध्यायले बताउनुभयो । उनले भने, “एक चोटी खप्तड घुम्न आउने पर्यटक अर्कोपल्ट नआइकन रहनै सक्दैन्, खप्तडसँग मन लोभ्याउने शक्ति छ ।”

आवश्यक परेको खण्डमा पर्यटकका लागि बग्लेगबाट घोडाको व्यवस्था पनि गरिएको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताउनुभयो । उनले भने, “हामीले झिग्रानासम्म सडक सुविधा पुर्याउन सफल भएका छौँ भने त्यहाँबाट पर्यटकको माग बमोजिम घोडाको पनि व्यवस्था मिलाउन सक्छौँ ।”

खप्तड क्षेत्र खप्तडबाबाले तपस्या गरेको पवित्र ठाउँ पनि हो । विभिन्न किताबमा लेखिएअनुसार खप्तड बाबाले खप्तडमा ५० वर्ष बिताउनु भएको थियो । खप्तड पुगेर हेर्नैपर्ने ठाउँ खप्तड बाबाआश्रम पनि भएको स्थानीयवासीको भनाइ छ । त्यहाँ बाबाको मूर्तिका साथै बाबाले प्रयोग गरेका केही सामान छन् । उक्त ठाउँमा बाबाले योग र ध्यान गर्नुभएको थियो जनविश्वास छ । उहाँले धर्मविज्ञान, विचार विज्ञान, स्वास्थ्य विज्ञान, म र मेरो कर्तव्य, नारीधर्म र पुरुषधर्म, आत्मज्ञान, योग विज्ञान, वेदान्त विज्ञान, आरोग्य विज्ञानलगायत पुस्तक लेखेका उनका विभिन्न कितामा उल्लेख गरिएको छ ।

समुद्र सतहबाट तीन हजार ५०० मिटरसम्म उचाइमा रहेको खप्तड राष्ट्रिय निकुञ्ज २२५ वर्ग किमी। क्षेत्रफलमा फैलिएको छ । निकुञ्जभित्र ५६७ थरिका वनस्पती र नेपालमा पाइने ८५० किसिमका चराचुङ्ंगीमध्ये २६० भन्दा पनि बढी चराचुरुङ्गी पाइने गरेको खप्तड राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत प्रकाशबहादुर शाहले बताए ।

उनका अनुसार खप्तड क्षेत्रमा खस्रेभ्यागुता र बझाङ्गे पाहाँ गरी दुई प्रजातिका रैथाने उभयचर, बाघबुट्टे निगालो पाइने यो नेपालको एक मात्र राष्ट्रिय निकुञ्ज हो । खप्तड राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत प्रकाशबहादुर शाहले भने, “विश्वकै दुर्लभ जातिको हरियो छेपारो पनि हाम्रै खप्तड राष्ट्रिय निकुञ्जमा पाइन्छ ।” बाह्रैमहीना पानीको सतह एकै नासको हुने विशेषता रहेको १५० मिटर लम्बाइ ५० मिटर चौडाइ रहेको खप्तड दह पनि यहाँ छ भने ५२ वटा ताल (दह) पनि यहाँ रहेका छन् ।

यतिमात्र नभइ खप्तड राष्ट्रिय निकुञ्जमा कस्तुरी, मृग, बँदेल, डाँफे ,जरायो, रतुवा, थरल, घोरल, चितुवा, भालु, बाँदर, ढेडुबादर, दुम्सी, खरायो लगायतका जङ्गली जनावर यहाँ पाइन्छन् । प्रकृतिले नै रमाइलो बनाएको यस ठाउँमा ठूलाठूला घाँसे मैदान, स–साना ढिस्का र रमाइलो जङ्गल रहेको छ । त्यहाँ रहेका घाँसे मैदानमा गाई, गोरु, घोडा वर्षेनी चर्न आउने र रमाउने गर्छन् । खप्तड क्षेत्रमा चारैतिर घनघोर जङ्गल र बीचमा ठूल्ठूला फाँटछन् । जैविक विविधताले भरिएको यो क्षेत्र विसं २०४० देखि राष्ट्रिय निकुञ्ज बनेको खप्तड पर्यटन विकास समिति डोटीले जनाएको छ । गाेरखापत्र दैनिकबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: