कक्षा १२ का परीक्षार्थीबाट भेटियो बोराभरि चिट

बाँके, वैशाख १७ । कक्षा १२ को परीक्षा अनुगमनाका क्रममा नेपालगञ्जका केही परीक्षा केन्द्रबाट ठूलो परिमाणमा चिट फेला पारेको छ । नेपालगञ्ज उप–महानगरपालिका र शिक्षा विकास तथा समन्वय इकाईबाट खटिएको अनुगमन टोलीले मंगलबार ठूलो परिमाणमा चिट फेला पारेको हो ।

आठ वटा केन्द्रमा गरिएको अनुगमनपछि बोराका बोरा चिट फेला पारी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा। धवलशमशेर राणाले विद्यार्थीको शैक्षिक गुणस्तर सुधारका लागि परीक्षाको अनुगमन गरिएको भन्दै परीक्षाका जिम्मेवार निकायसँगै केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मीको चेकजाँचमा कसरी यतिधेरै ठूला किताबसहितको चिट परीक्षा हलमा पुग्यो, खोजीको विषय भएको बताए ।

नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापाले माध्यामिक तहको अनुमतिलगायतका काम स्थानीय तहले गर्ने भएकाले शैक्षिक सुधारका लागि परीक्षाको अनुगमन गर्न पाउने दाबी गरे ।

मंगलबार विज्ञान (फिजिक्स) को परीक्षाको अनुगमन गरिएको हो । केही शिक्षकले स्थानीय तहले कक्षा १२ को परीक्षाको अनुगमन गर्न नपाउने भन्दै बिवाद गरेका थिए । अनुगमन टोलीले संस्थागत विद्यालयका परीक्षार्थी रहेको केन्द्रबाट बढी चिट फेला पारेको नेपालगञ्ज उप–महानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बताए ।

कमेन्ट गर्नुहोस्