विप्लवका ५ कार्यकर्ता जेल चलान

विराटनगर, वैशाख १७ । विभिन्न समयमा पक्राउ परेका नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाका कोशी व्युरो संयोजक घनश्याम श्रेष्ठसहित पाँच जनालाई कारागार चलान गरिएको छ । जिल्ला अदातल सुनसरीका न्यायाधीश ध्रुबकुमार सुवेदीको मंगलबारको आदेशमा उनीहरुलाई सुनसरीको झुम्कास्थित कारागार चलान गरिएको हो ।

चैत १० गते मोरङको कानेपोखरीबाट पक्राउ परका पार्टीका ब्युरो संयोजक ओखलढुंगाका श्रेष्ठ र सदस्य काभ्रे घर भएका माधव गौतम, चैत १२ गते सुन्दरहरैचाबाट पक्राउ परेका पार्टीका मोरङ इञ्चार्ज भोजपुर घर भएका कृष्णकुमार श्रेष्ठ, चैत १३ गते इटहरीबाट पक्राउ परेका सुनसरीका रमेश खड्का र सुनसरीको पानमाराबाट फागुन १५ गते हतियारसहित पक्राउ परेका पाँचथरका देबकुमार साँवा लिम्बू कारागार चलान भएका हुन्।

उनीहरूमध्ये लिम्बूलाई पुर्पक्षको लागि कारागार चलान गर्न र बाँकीलाई जनही ५० हजार धरौटीमा छाड्न अदालतले आदेश दिएको थियो। विप्लबका कार्यकर्तालाई अदालतबाट छुटेलगत्तै पक्राउ गर्न क्रम बढेकोले धरौटीमा छोड्न आदेश गरिएकाहरू पनि धरौटी जम्मा नगर्ने भन्दै कारागार गएका हुन्।

अदालत परिसरमा पुनः पक्राउ गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएकोले पनि उनीहरुले आपूmहरु कारागार नै जाने बताएका थिए। पक्राउ परेका लिम्बूलाई हातहतियार तथा खरखजाना, संगठित अपराध र राजद्रोहको मुद्दा चलाइएको थियो। हतियारसहित पक्राउ परेका लिम्बूसँग नियमित संपर्कमा रहेको आधारमा अन्य चार जनालाई पनि सोही मुद्दा मतियारको रुपमा चलाइएको थियो।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: