काठमाडौं, वैशाख १८ । बुधबार अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात १३० औं मजदुर दिवसको यस अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धिको लागि राष्ट्रिय सभाको अध्यक्ष गणेश तिमिल्सिनाले शुभकामना व्यक्त गरेका छन् ।
आठघण्टा काम, आठघण्टा आराम र आठघण्टा मनोरञ्जन गर्न पाउने लगायत पेशागत हितको प्रबद्र्धन र कामको सुरक्षाका आधारभूत माग राखी अमेरिकाको शिकागोमा भएको संघर्षबाट मजदुरको वर्गीय हित, रोजगारीको सुरक्षा तथा सेवा र सुविधालाई राज्य पक्षले संरक्षण दिनुपर्छ भन्ने मान्यता स्थापित भएको थियो । सोही दिनलाई स्मरण गर्दै प्रत्येक वर्ष मे १ मा विश्व मजदुर दिवस अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिन्छ ।
श्रम कुनै वस्तु वा बिक्री वितरणको साधन होइन भन्ने मुल मान्यताका साथ अघि बढेको मजदुरहरुको आन्दोलनले विभिन्न आरोह अबरोह पार गर्दै कामको छनौट गर्ने अधिकार, उत्पादनमुलक रोजगारीको अवसर, बिना भेदभाव समान कामका लागि समान पारिश्रमिकको अधिकार, सुरक्षित र स्वस्थ कामका अवस्थाहरु, विश्राम तथा कार्यघण्टाको उचित सीमा एवं तलबी बिदाको अधिकार, ट्रेड युनियन खोल्ने र सम्मिलित हुन पाउने अधिकार, सामुहिक सौदावाजी तथा सामाजिक बिमा र सामाजिक सुरक्षा जस्ता अधिकारहरु स्थापित भएका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने श्रमिक वर्गको योगदानको उच्च मुल्यांकन तथा सम्मान गर्दछु । राष्ट्रको समग्र सामाजिक, आर्थिक उन्नतीका लागि रोजगारी र श्रम सम्बन्धी अधिकारको महत्वपूर्ण भूमिका रहेको हुन्छ । नेपालको संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने उद्देश्यलाई परिणाममुखी बनाउन श्रमिकहरुको महत्वपूर्ण योगदान रहन्छ । साथै, यसबाट प्राप्त हुने उपलब्धीबाट पनि श्रमिक वर्ग प्रत्यक्ष लाभान्वित हुनुपर्दछ ।
अन्त्यमा, यस अवसरमा सम्पूर्ण श्रमिकहरुले राष्ट्रको समग्र विकासमा महत्वपूर्ण योगदान गर्न तथा आफ्नो हक–अधिकारको सार्थक रुपमा प्रयोग गर्न सकुन् भन्ने शुभकामना सहित वधाई समेत दिएका छन् ।