चर्चित क्रिकेट लिग खेलेका आर्चरकाे अन्तर्राष्ट्रिय डेब्यू

काठमाडौं, वैशाख १९ । इंग्ल्याण्डका चर्चित अलराउण्डर जोफ्रा आर्चरले अहिलेसम्म कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेट फम्र्याटमा डेब्यू गर्ने मौका पाएका छैनन् भन्दा क्रिकेट समर्थकलाई केही अचम्म लाग्न सक्छ । लाग्नु पनि स्वभाविक हो । आर्चर अहिलेका चर्चित क्रिकेटरमा गनिन्छन् । उनले विश्वका प्रतिष्ठित लिगहरु खेलिसकेका छन् ।

वेस्ट इन्डिज मुलका आर्चरले भारतको इन्डियन प्रिमियर लिग (आइपीएल), अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) र पाकिस्तान सुपर लिग (पीएसएल) लगायत नाम चलेका क्रिकेट लिगमा सहभागिता जनाइसकेका छन् । र, ती लिगमा उनले शानदार प्रदर्शनसमेत गरेका छन् । भारतमा जारी आइपीएलमा उनी राजस्थान रोयल्सबाट खेल्ने गर्दछन् ।

यो आइपीएलमा उनले ११ खेलमा ११ विकेट लिएका छन् । आयरल्याण्ड विरुद्धको एकदिवसीय खेल खेल्नका लागि उनी आइपीएलको बिचमै अहिले स्वदेश फर्किएका छन् ।

२४ वर्षिय आर्चर ३० मेदेखि शुरु हुने वान डे विश्वकप क्रिकेटमा मौका पाउने अनुमान धेरैको थियो । तर, अन्तिममा उनले विश्वकपका लागि मौका नपाए पनि अन्तर्राष्ट्रिय डेब्यू गर्नका लागि भने टिममा स्थान बनाएका छन् । आर्चरले भोलि (शुक्रबार) आयरल्याण्डविरुद्ध अन्तर्राष्ट्रिय वान डे क्रिकेटमा डेब्यू गर्दै छन् ।

कमेन्ट गर्नुहोस्