काठमाडौं, बैशाख २० । सभामुख कृष्णबहादुर महराले पाटन हस्पिटलमा उपचाररत पूर्वसांसद तथा थबाङका अग्रज कम्युनिष्ट नेता बर्मन बुढालाई भेटी स्वास्थ्य लाभको कामना गरेका छन् ।
शुक्रबार बिहान पाटन हस्पिटल ललितपुर पुगी महराले पूर्वसांसद बुढालाई सान्त्वना दिनुका साथै स्वास्थ्य लाभको कामना गरेको हो ।
पेटमा समस्या देखिएपछि हिजो पाटन हस्पिटलमा भर्ना गरिएको र अहिले प्रारम्भिक उपचार चलिरहेको बुढाकी छोरी विजयज्योतीले बताए । भेटमा सभामुख महराले पूर्वसांसद बुढालाई धेरै चिन्ता नगर्न आग्रह गर्दै चाँडै ठीक हुने विश्वास व्यक्त गरे।
सो क्रममा सभामुख महराले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति भरत कुमार यादव र डाक्टरहरुको टोलीलाई भेटी पूर्वसांसद बुढाको उपचारमा कुनै कमी हुन नदिन अनुरोध गरे ।
माओवादी जनयुद्धको उद्गम थलोको रुपमा रहेको रोल्पाको थबाङका पाका कम्युनिष्ट नेता बर्मन बुढा नेपाली कम्युनिष्ट आन्दोलनका बलियो खम्बाकै रुपमा रहेका छन् । उनी २०४८ सालमा जनमोर्चा नेपालको तर्फबाट रोल्पा क्षेत्र नं.१ बाट विजयी भएका थिए ।