`मेराे सरकार´काे विवाद: प्रधानमन्त्रीद्वारा पत्रकार सम्मेलन, राष्ट्रपतिकाे बचाउ

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सरकारको नीति तथा कार्यक्रम पढ्दा पटक पटक मेरो सरकार शब्द उच्चारण गरेकाे विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्दै राष्ट्रप्रमुखको हैसियतले सरकार राष्ट्रपतिकै भएको बताएका छन्।

प्रधानमन्त्री ओलीले शनिबार बालुवाटारमा पत्रकारहरुसँग मेरो सरकार भन्ने अर्थलाई बृहत र सामुहिक अर्थमा बुझ्नुपर्ने बताए।

‘मैले मेरो देश भन्छु। मैले मेरो देश भन्दा अरुको देश होइन भनेको हो र?,’ प्रधानमन्त्रीले भने, ‘राष्ट्रपति देशको अभिभावक हो। राष्ट्रप्रमुख पनि हो। संस्था हो।’

मेरो सरकार भन्ने अर्थलाई सञ्चारमाध्यम र बौद्धिक बर्गले फराकिलो ढंगबाट बुझ्नुपर्ने उनले बताए। ‘मैले व्यक्तिगत कुरा गरिराखेको छैन। राष्ट्रप्रमुखको हैसियतमा यो सरकार राष्ट्रपतिकै हो,’ प्रधानमन्त्री ओलीले भने।

यस्तो अन्तर्राष्ट्रिय अभ्यास बौद्धिक जगत तथा मिडियाले बुझ्नुपर्नेमा उनले जोड दिए ।  उनले भने ‘धेरै परको कुरा छाडौं । संसारभरीका कुरा पनि छाडौं । अन्य मुलुकका कुरा पनि छाडौं ।  छिमेकी मुलुक भारतमा चलेको प्रचलन पनि हामीले थाहा नपाउँदा अचम्म लागेको छ । भारतमा अर्काे पार्टीको सरकार हुँदा पनि राष्ट्रपतिले ‘माइगभर्मेन्ट’ भन्ने चलन छ । भारतका धेरै राष्ट्रपतिले धेरैपटक ‘माइगभर्मेन्ट’ भनेका छन् । त्यहाँको राष्ट्रपतिले के डेमोक्रेशी नबुझेर यस्तो भनेका हुन् ? अनि हाम्रो देशमा राष्ट्रपतिले ‘मेरो सरकार’ भन्दा राजतन्त्रको झल्को आउने ? भारत पनि गणतन्त्रात्मक मुलुक हो । तर, हामी भर्खर राजतन्त्रात्मक शासन प्रणालीबाट गणतन्त्रात्मक शासन प्रणालीमा प्रवेश गरेकाले बौद्धिक जगतलाई राजतन्त्रको झल्को लागेको हो । ’

प्रधानमन्त्रीले भने ‘यो सरकार जननिर्वाचित हो र विद्या भण्डारी जननिर्वाचित राष्ट्रपति हो । एक्काइशौं शताब्दीमा संसारभरका  लोकतान्त्रिक संसदमा सम्बोधन गर्दा ‘माइगभर्मेन्ट’ नै भन्ने गरिन्छ । राष्ट्रपतिले कसको सरकार भन्ने ? के निबन्ध पढ्ने ?  राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नुभयो भनेर आलोचना गर्नेहरुले आजको दुनियाँ थाहा पाउनुपर्‍यो । ‘मेरो सरकार’ भन्ने हैसियत राखेरै राष्ट्रपति संसदमा सम्बोधन गर्न आउनुहुन्छ । उहाँ राष्ट्रको अभिभावक हो । संविधानको संरक्षक हो । के हामीले स्थापना गरेको प्रणलीको गरिमा बुझेका छैनौं ? ‘मेरो सरकार’ भन्ने सामान्य अभ्यास हो । हामीले स्थापना गरेको प्रणालीको गरिमा बुझेनौं ।  राजतन्त्र फालेर ल्याएको गणतन्त्रमा नागरिकबाट निर्वाचित राष्ट्रपतिको गरिमा नबुझेको हो कि राजतन्त्रात्मक मानसिकताबाट हामी मुक्त हुन नसकेको हो ? यस सम्बन्धमा सबैजनाले सार्थक बहस गर्न जरुरी छ । मिडियाले सार्थक बहसको नेतृत्व लिनुपर्छ ।’ 

कमेन्ट गर्नुहोस्