फानी आँधीले निम्त्याएको विपत्ति, हेर्नुस् तस्बिरमा

बीबीसी । फानी नाम गरेको आँधी शुक्रवार स्थानीय समयअनुसार बिहान करिब साढे दश बजे भारतको ओडिशास्थित समुद्री तटमा बज्रिएको थियो। त्यसक्रममा तीव्र वेगको आँधी सहित पानी पर्‍यो। अहिलेसम्म तीन जनाको ज्यान गएको पुष्टि भएको छ। ओडिशामा फानी आँधी पुग्दा त्यसको गति १६५ देखि १७५ किलोमिटर प्रतिघण्टा थियो।

आँधीका कारण ठाउँठाउँमा रूख र खम्बाहरू ढलेका छन्। तर ठूलो जन-धनको क्षति भएको खबर अहिलेसम्म आएको छैन। उक्त आँधी उत्तर र उत्तर-पूर्वतर्फ बढेको छ। आँधीको प्रत्यक्ष असर नेपालमा नपरे पनि बिशेषत: पूर्व र मध्य भागमा बदली र केही ठाउँमा वर्षा भएको छ।

फानीका कारण ओडिशाका १५ वटा जिल्ला प्रभावित भएको बताइएको छ। त्यस्तै भुनवेश्वरको एम्स अस्पतालमा पनि क्षति पुगेको छ। समाचार संस्था एएनआईलाई केन्द्रीय स्वास्थ्य सचिवले अस्पतालमा निकै क्षति पुगेको तर विरामी, विद्यार्थी र कर्मचारी सुरक्षित रहेको बताएका छन्।

ओडिशाको पुरी र भुवनेश्वरमा आँधीका कारण टेलिफोन नेटवर्कमा समस्या भएको थियो। त्यस्तै मे महिनाको एकदेखि तीन तारिखसम्मको निम्ति ट्रेनको समय तालिका परिवर्तन गरिएको थियो। ईस्ट कोस्ट रेलवेले १० वटा ट्रेन रद्द गरेको थियो।
भारतीय जलसेनाले जनधनको क्षतिको विवरण सङ्कलन गर्न आफ्नो पी-८आई र डोर्नियर विमानलाई हवाई सर्वेक्षणको निम्ति तयारी अवस्थामा राखेको छ।

भारतीय हवाई प्राधिकरणले भुवनेश्वर र कोलकाता विमानस्थलमा शुक्रवार तीन बजेदेखि शनिवार विहान आठ बजेसम्म उडान रद्द गरेको थियो। ओडिशाबाट निस्किएको आँधी शनिबार पश्चिम बंगालको तट पुग्ने र गति कम हुने बताइएको थियो। त्यसपछि उक्त आँधी बांग्लादेशतर्फ जाने छ। त्यो आँधी आइतवार साँझसम्ममा बांग्लादेश पुग्नसक्ने बताइएको छ।

कमेन्ट गर्नुहोस्