काठमाडौं, वैशाख २१ । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमबीच पार्टी एकता गर्ने सहमति भएको छ। शुक्रबार राति अबेरसम्म चलेको छलफलले एकताको सहमति गरेको हो ।
नयाँ शक्ति पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेका अनुसार एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ ।
एकीकृत पार्टीमा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई पहिलो वरीयताको अध्यक्ष रहनेछन् भने संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव दोस्रो वरीयतामा रहनेछन्। भट्टराई संघीय समितिको अध्यक्ष र यादव केन्द्रीय समितिको अध्यक्ष रहनेगरी एकताको प्रक्रिया टुंगो लगाइएको हो।
आउँदो वैशाख २३ गते सोमबार पार्टी एकता घोषणासभा हुने पाण्डेले बताए। घोषणासभापछि नयाँ केन्द्रीय समिति गठन गरिने बताइएको छ।