काठमाडौं, वैशाख २२ । नेपाल कम्युनिस्ट (नेकपा) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले ५० औं वैवाहिक वार्षिकी मनाउने भएका छन् । प्रचण्ड सचिवालयले दिएको जानकारी अनुसार, पत्नी सीता दाहालसँग विवाहको ५० वर्ष पुगेको अवसरमा यही २६ गते चियापान कार्यक्रम आयोजना गरिने भएको हो ।
प्रचण्डका नीजि सचिव तथा छोरी गंगा दाहालका अनुसार, सीमित व्यक्तित्व तथा आफन्तलाई निमन्त्रणा गरेर सामान्य चियापानको आयोजना गरि परिवार र आफन्तद्वारा शुभकामना दिने कार्यक्रम छ । गंगाले भनिन्, ‘आमा विरामी हुनुहुन्छ, उहाँलाई खुशी बनाउन पनि यस्तो सोचेका हौं।’ सीता दाहालको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको पनि गंगाले वताईन्।
कक्षा १० मा पढ्दै गर्दा २०२६ सालमा प्रचण्डले सीतासँग बिहे गरेका थिए । जन्मदिन या विवाहकाे वर्षगांठ जस्ता दिनहरुमा प्रचण्डले खासै चासाे दिने गरेका छैनन । तर पत्नी सीता दाहालकाे खुसी र सामाजिक परम्परा अनुसार पनि विवाहको ५० औं वर्षगाँठलाई विशेष महत्व दिईने भएकाेले प्रचण्डले सहमति दिएको सचिवालयले जानकारी दिएको छ ।