काठमाडौं, वैशाख २३ । काठमाडौंको बालाजु क्षेत्रमा सडक अतिक्रमण गरेर बनाइएका घरटहरा हटाइएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा र जिल्ला प्रशासन कार्यालय काठमाडौंको सहकार्यमा घरटहरा हटाइएको हो । सडक मिचेर बनाइका टहरा हटाइएपछि विष्णुमति करिडोर सञ्चालनमा आउने भएको छ । योसँगै त्यस क्षेत्रमा हुने जाम हट्ने ट्राफिक प्रहरीले विश्वास लिएको छ ।
टोखा नगरपालिका मेयर प्रकाश अधिकारी, ट्राफिक प्रहरी महाशाखा प्रमुख वसन्त पन्त, नगरपालिकाका वडाध्यक्षहरुको उपस्थितिमा घरटहरा हटाइएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ३ महिने विशेष अभियानका क्रममा सो क्षेत्रका सबै घरटहरा हटाउन एक साताको समय दिएको थियो। तोकिएको समयमा सो क्षेत्रका स्थानीयले घरटहरा नभत्काएपछि आज डोजर चलाइएको हो ।
करीडोर खोलिँदा कालिमाटी, बालाजु, गोगंबु, सामाखुशी, नेपालटार, बानियाटार, टोखा, झोरलगायत क्षेत्रमा ट्राफिक जाम कम हुने यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए।