३० तोला सुनसहित नेपाल एयरलाइन्सका कर्मचारी पक्राउ

काठमाडौं, वैशाख २३ । प्रहरीले अवैध ३० तोला सुनसहित नेपाल एयरलाइन्सका १ जना कर्मचारीलाई पक्राउ गरेको छ । सोमबार पत्रकार सम्मेलन गरी अवैध ३० तोला सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सका मेन्टिनेन्स ह्यांगरमा कार्यरत कर्मचारी रञ्जितकुमार यादव पक्राउ परेको महानगरी प्रहरी परिसर, काठमाडौंले जानकारी गराएको हो।

कर्मचारी यादवलाई आइतबार दोहाबाट आएको नेपाल एयरलाइन्सको फ्लाइटका यात्रु सिरहाका धर्मेन्द्रकुमार यादवले ल्याएको सो अवैध सुनसहित पक्राउ गरिएको वरिष्ठ प्रहरी उपरीक्षक वसन्तकुमार लामाले जानकारी दिए।

उनले अनुसन्धानका क्रममा दोहाबाट नेपाल एयरलाइन्समा आउने यात्रुलाई आर्थिक प्रलोभनमा पारेर अवैध सुन पठाउने गरेको पाइएको पनि बताए। यात्रुले ल्याएको अवैध सुन नेपाल एयरलाइन्सका कर्मचारी यादवले बुझ्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्