गोरखापत्र ११९औं वर्ष प्रवेशको अवसरमा प्रधानमन्त्रीको शुभकामना

काठमाडौं, वैशाख २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि नेपाली मिडियाबाट उल्लेखनीय सहयोग प्राप्त भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले नेपालको पहिलो समाचारपत्र गोरखापत्रको ११९औं वर्ष प्रवेशका अवसरमा शुभकामना दिँदै लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगतको भूमिका स्मरण गरे । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानमा सञ्चार माध्यमको सशक्त भूमिका हुने समेत बताए । उनले पत्रकारिता पेशालाई मर्यादित, सुरक्षित, सम्मानित र स्वतन्त्र बनाउन पत्रकारहरुको क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने ध्येयका साथ पत्रकार वृत्ति कोष स्थापना भई सञ्चालनको आधार समेत तयार भइसकेको बताए । उनले पत्रकारको पेशागत हकहित र स्वतन्त्रताको रक्षाका लागि सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।

याे पनि पढ्नुस  ओलीले भने,‘एक जना माडसाप’ चुनावमा सहभागी भएका छन् रे !

त्यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संविधानमा उल्लेखित पूर्ण प्रेस स्वतन्त्रता, विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचना तथा सञ्चारको हकलगायत सूचना र आमसञ्चारसँग सम्बन्धित सबै व्यवस्थाहरूको कार्यान्वयनमा सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

चौथो राष्ट्रिय पत्रकारिता दिवस, गोरखापत्र दैनिकको ११९औँ वर्ष प्रवेश तथा गोरखापत्र संस्थानको ५७ औँ वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले नयाँ संविधान जारी भएयता मुलुक समृद्धिको दिशामा अघि बढिरहेको बताएका छन् ।

याे पनि पढ्नुस  प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीसँगको छलफल

‘आगामी दिनमा पनि आमसञ्चार क्षेत्रले तथ्यमा आधारित विश्वसनीय सूचना प्रवाह गरेर, बेथिति विरुद्ध खबरदारी गरेर तथा जनताको वृहत्तर हित गर्ने राष्ट्रिय मुद्दाका पक्षमा जनमत निर्माण गर्न सहयोग गरेर मुलुक समृद्धिको अभियानमा हिस्सेदारी जनाउने छ भन्ने मैले विश्वास लिएको छु” सन्देशमा उल्लेख गरिएको छ, ‘मुलकको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय एकता, सामाजिक न्यायसहितको लोकतन्त्र र शान्तिलाई अझ सबल बनाउने सरकार र आम नेपालीको दृढ संकल्पलाई पूरा गर्न आमसञ्चार क्षेत्रले आगामी दिनमा पनि योगदान गर्नेछ भन्नेमा म विश्वस्त छु ।’

कमेन्ट गर्नुहोस्