डडेलधुरा, वैशाख २४ । डोटीको बडीकेदार गाउँपालिका–४, मान्नाकापडीको वडा कार्यालय सोमबार राति अज्ञात समूहले जलाइदिएको छ।
डोटीको दक्षिण क्षेत्रमा रहेको गाउँपालिकाको वडा कार्यालयको ढोका तोडफोड गरेर सामग्रीहरु एक ठाउँमा जम्मा गरेर आगो लगाइएको वडा नं.४ का वडा अध्यक्ष वीरेन्द्रबहादुर कोटकेनीले बताए । उनले भने, ‘वडा कार्यालय गाउँभन्दा अल्लिमाथि छेउमा छ, धेरै टाढा पनि छैन । तर, रातिको समयमा कार्यालयको ढोका फोडेर कागजपत्र सहित सबै सामग्रीहरु एक ठाउँमा जम्मा गरेर सुनियोजित तरिकाले जलाइएको छ ।’
उनले जनतालाई सेवा दिने काममा अड्चन सिर्जना गर्ने दोषीलाई पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्नुपर्ने अध्यक्ष कोटकेनीले माग गरे।
रातिको समयमा आयो लगाइएको भएपनि मंगलबार बिहानमात्र प्रहरीलाई जानकारी भएपछि इलाका प्रहरी कार्यालय वीपीनगरबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक विद्यानन्द माझीले बताए ।
वडा कार्यालय जलाइनु दुःखद कुरा भएको बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्दको भनाइ छ। उनले भने, ‘वडा कार्यालय भनेको जनताको कार्यालय हो, जनताका केही बिमतिहरु भए वडामा आफ्नो जनप्रतिनिधिसँग राख्ने हो ।’ उनले यस सम्बन्धमा छानबीनका लागि एक समिति गठन गर्ने जनाए।
आगो कसले र किन लगायो भन्ने विषयमा केही पत्ता लागेको छैन । घटनास्थलतर्फ प्रहरी गइरहेकोले अनुसन्धानपछि मात्र घटनाबारे थप जानकारी पाइने वडाध्यक्ष कोटकेनीले बताए।