पुरुषहरुसँग दिक्क भएका महिला जो सुरक्षित हुन एक–अर्कासँग विवाह गर्छन्

वैशाख २५ । आफ्ना पतिलाई छाडिसकेपछि २५ वर्षीया बेक छाहाले एक्लै जीवन बिताइरहेकी एक वृद्ध महिलासँग विवाह गरिन् । उनी भन्छिन्, ‘म पुरुषहरुसँग दिक्क भइसकेको थिएँ ।’ छाहा तान्जानियास्थित कितावासी गाउँको कुरिया समुदायकी सदस्य हुन् । केन्याको सिमाना नजिकै रहेको सो गाउँमा महिलाहरु सुरक्षित रहन यसरी विहे गरेर एकसाथ बस्ने गरेका छन् ।

छाहाले भनिन्, “हामी दुवैले एकअर्कालाई मद्दत गर्न सक्छौँ भनेर नै म आफैँले यी महिलासँग बस्ने निर्णय गरेकी हुँ ।” तर विवाह गरेपनि सँगै बस्ने महिलाहरुबीच पतिपत्नी जस्तो कुनै शारीरिक सम्बन्ध वा प्रेम नहुने गरेको बताइएको छ भने तान्जानियाको कानुन पनि समलिङ्गी विरुद्ध रहेको छ । यस्तोमा समलिङ्गी जोडी अवैध भएको हुँदा एकअर्कासँग वास्तवमै प्रेममा परेपनि जोडीहरु सार्वजानिक हुने गरेका छैनन् ।

यसरी छाहाले कुरिया परम्परा अन्र्तगत ६४ वर्षीया क्रिस्टिना वामबुरासँग पाँच वर्ष अगाडि विवाह गरेकी हुन् र यस्तो परिवारलाई ‘महिलाहरुको घर’ भन्ने गरिन्छ । यसमा पति नभएका कुनैपनि वृद्ध महिलालाई युवतीसँग विवाह गर्ने अनुमति हुन्छ जसको वंश जारी राख्ने एउटा छोरा भएको हुनुपर्छ वा हुनेवाला हुनपर्नेछ । तर वास्तवमा यो परम्पराले महिलाहरुलाई अर्कै महत्वपूर्ण कुरा दिलाउँदै आएको छ, त्यो हो सुरक्षा ।

यसरी कुरिया समुदायको अधिंकाश जनसङ्ख्या बस्ने मारी क्षेत्रमा ७८ प्रतिशत भन्दा बढी महिलाहरु आफ्ना पतिबाट शारीरिक, मानसिक लगायत दुर्व्यवहार र यातनाको शिकार हुने गरेको सरकारी तथ्याङ्कमा उल्लेख छ । त्यसैले घरेलु हिंसाको चरम रुपबाट आफूलाई जोगाउन कुरिया समुदायका महिलाहरुले ‘न्युबा नतोबु’ नामक वृद्ध महिलासँग विवाह गरि बस्ने यस परम्पराको सहारा लिइरहेका छन् । यसैकारण यो चलन अहिले कुरिया समुदायमा अत्यन्तै लोकप्रिय बन्दै गइरहेको छ । छाहा र वामबुरा बस्ने ठाउँमा मात्र त्यस किसिमको विवाहले सो क्षेत्रको २० प्रतिशत परिवारको प्रतिनिधित्व गर्ने स्थानीय गैरसरकारी संगठनले जनाएको छ ।

अहिले वामबुरासँगको जीवनबारे छाहा भन्छिन्, “पहिलेको तुलनामा अहिलेको जीवन धेरै राम्रो छ । अहिले कसैको कुटाइ खानुपर्दैन, मसँग झगडा गर्ने पनि कोही छैन । यहाँ हामी आफ्नो र बच्चाका लागि खाना जुटाउन सहकार्य गर्ने गर्छौँ ।”

छाहाका अनुसार १५ वर्षको हुँदा विवाह गरेका उनका पतिसँग उनलाई ठूलो डर थियो । त्यसैले उनले आफ्नो छोराका निम्ति सुरक्षित वातावरणमा रहन तिनलाई छाडेकी हुन् । यसअघि छाहा उनको माइतीकहाँ पनि गएकी थिइन् तर त्यहाँ उनले पहिलो पतिलाई दिइएको दाइजो फिर्ता गर्नुपर्ने भयो । उनको परिवारले विवाहको समयमा ५० हजार प्रति तान्जानियन सिलिङ पर्ने नौवटा गाई दाइजोमा दिएको थियो । यस्तोमा वामबुराले छाहाको हात मागेपछि उनको दाइजोको रकम पनि चुक्ता गरिदिएकी थिइन् । छाहा भन्छिन्, “वामबुरा मेरा बुवाकहाँ आएर मसँग जीवन बिताउन चाहेको भन्दै मेरो हात माग्न थालिन् । यसपछि उनले दिएको रकम मेरा पूर्वपतिलाई दिइएको दाइजोको भरपाइ गर्नमा प्रयोग भयो र म आधिकारिक रुपमा उनको परिवार बनेकी हुँ ।”

यसरी वामबुराले पनि ११ वर्षको हुँदा नै विवाह गरेकी थिइन् तर उनको छोराको जन्मदै मृत्यु भएपछि उनी फेरि गर्भवती हुन सकिनन् । उनी भन्छिन्, “त्यहीँबाट हाम्रो झगडा सुरु भएको हो । उसले मलाई दिनकै यो घरबाट निस्किन भनि धम्क्याउने गर्दथ्यो ।” यसरी छाहाको आगमनपछि उनको जीवनमा पनि ठूलो सुधार आएको उनी बताँछिन् । छाहाको छोराले उनलाई आमा बन्दाको अनुभव पनि दिलाएको उनले खुसी हुँदै बताइन् ।

तरपनि वृद्ध महिलासँग विवाह गर्ने युवतीले उनको सम्पत्तिमा कुनै हक नपाउने हुँदा यसको आलोचना पनि भइरहेको छ । त्यस्तै कुरिया समुदायमा महिलाहरुलाई कुनै जग्गा जमिन आफ्नो नाममा गर्न नदिइने चलन पनि रहेको छ । तान्जानीयाको कानुनमा सबै सम्पतिमा महिला र पुरुषको बराबर हक लाग्ने भनिएपनि ग्रामीण क्षेत्रमा यो लागु हुँदैन । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनका अनुसार तान्जानियाका केबल २० प्रतिशत महिलाको नाममा मात्र जग्गाजमिन र सम्पति रहेको छ । तापनि आफूहरु शान्तिपूर्वक बाँच्न सक्ने र कसैले नहेप्ने, कसैले नकुट्ने हुँदा यसप्रति कुनै समस्या नभएको उनीहरु बताउँछन् । सीएनएनबाट

कमेन्ट गर्नुहोस्