धनगढीले थाल्यो ग्रिन क्लिन अभियान

धनगढी, बैशाख २५ । धनगढी उप–महानगरपालिकाले बुधबारदेखि नगरमा ग्रीन क्लीन धनगढी अभियान सुरु गरेको छ ।

उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले एक कार्यक्रमका बीच वडा नं.८ को क्याम्पस चोकमा अभियानको उद्घाटन गरेका हुन् । अभियानको उद्घाटनसँगै अब उप–महानगरपालिका क्षेत्रमा निर्माण हुने निजी तथा सरकारी घरमा हरियोसँग लगाउन अनुरोध गरिने छ ।

त्यसैगरी घरमा लगाईने जस्ताहरु हरियो संगको नै लगाउनुपर्ने छ । धनगढी उप–महानगरपालिकाको अफिसियल रंग अब हरियो भएकोले नयाँ निर्माण हुने नगरका आफ्ना संरचनामा पनि हरियो सँग नै प्रयोग गर्ने नगरप्रमुख नृपबहादुर वडले बताए । यो कुनै कार्यक्रम होइन नगरले थालेको प्रवद्र्धनात्मक अभियान हो नगरप्रमुख वडले भने, अभियान निरन्तर चलिरहने भएकाले सबैको सहयोग आवश्यक छ । एक घर दुई बिरुवा रोप्नुपर्ने कुरालाई पनि अभियानमा राखिएको छ ।

धनगढी उप–महानगरपालिकाले यसका लागि गत वर्षमात्रै बिभिन्न वडाका बिभिन्न घरमा २० हजार लिची र आँपका बिरुवा वितरण गरेको थियो । उप–महानगरपालिकाले अनिवार्य दुईवटा फलफुलका बिरुवा रोपेमा मात्रै घर सम्पन्नको प्रमाणपत्र दिने ब्यबस्था गरेको छ । चुनाव जितेबाट नै नगरप्रमुख वडले भोट बराबर बोटको अभियान सुरु गरेका थिए । ग्रीन क्लीन धनगढीको अभियानलाई सहयोग पु¥याउन जनसंख्या बराबर बोटको अभियान पनि सुरु गरिने नगरप्रमुख वडले बताए ।

धनगढी उप–महानगरपालिका वडा नं ८ का अध्यक्ष नारायणप्रसाद बरालले बिजया सिमेन्ट प्रा.ली.को प्रायोजनमा वडा नं ८ को क्याम्पस चोक क्षेत्रमा निजी घरहरुमा हरियो रंग लगाउन सुरु गरिएको बताए । उनले भने, यो अभियानमा जोडिन सबै ब्यापारी, उद्योगपति र सर्वसाधारणसँग पनि अनुरोध गरिरहेका छौं ।

धनगढीलाई सफा राख्नका लागि धनगढी उप–महानगरपालिका र कैलाली उद्योग वाणिज्य संघले हरेक १५ दिनमा धनगढी नगर सरसफाई अभियान सुरु गरेका छन् । यसका साथै अभियानलाई सफल पार्नका लागि यूवा स्वयंसेवकहरुलाई परिचालन गर्ने यूवा शान्ति परिषदका संयोजक प्रेम ढंगानाले बताए ।

कमेन्ट गर्नुहोस्