महिलालाई पानी व्यवसायमा उद्यमी बनाउन महत्वपूर्ण समझदारी

काठमाडौं, वैशाख २६ । स्वच्छ पिउने पानीको उद्योग सञ्चालन गरी महिलालाई उद्यमी बनाउने उद्देश्यले दक्षिण एसियाली महिला विकास मञ्च, राष्ट्रिय वाणिज्य बैंक र भारतको टाटा कम्पनीबीच समझदारी भएको छ । खानेपानी मन्त्री बिना मगरको उपस्थितिमा महिला विकास मञ्चले बुधबार आयोजना गरेको कार्यक्रममा पानीको प्रशोधन गरी उत्पादन र बजारीकरण गर्ने र महिलाहरुलाई पानीको क्षेत्रमा उद्यमी बनाउने योजना सहित यस्तो समझदारी भएको हो ।

कार्यक्रममा मञ्चको तर्फबाट अध्यक्ष प्रमिला आचार्य रिजाल, वाणिज्य बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र टाटा कम्पनीको तर्फबाट एच ई कुट्टीले समझदारी पत्रमा हस्ताक्षर गरे ।

याे पनि पढ्नुस  खानेपानी मन्त्री अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन दिल्ली प्रस्थान

मञ्चको नेतृत्वमा गरिएको कार्यक्रममा महिला उद्यमी महासंघ, मानुषी लघु वित्तीय संस्था र व्यावसायिक महिला महासंघ समेत यस परियोजनामा जोडिएका छन् । महासंघकी अध्यक्ष शारदा रिजाल, मानुषी लघु वित्तको तर्फबाट अध्यक्ष पद्मासना शाक्य र व्यावसायिक महिला महासंघबाट प्रथम उपाध्यक्ष कमलेश लता राजभण्डारीले समेत समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

प्रशोधित पानी उद्योगमा महिलाहरुलाई सहभागी गराई उद्यमी बनाउने परियोजना अन्तर्गत पहिलो चरणमा काभ्रे जिल्लाको नाला र पनौतिबाट योजना सुरु गरिने भएको छ । महिलाहरुमा उद्यमशीलताको विकास गर्न राष्ट्रिय वाणिज्य बैंकले सहुलियतपूर्ण ऋण सहयोग गर्नेछ भने टाटा कम्पनीले प्राविधिक सहयोग गर्ने जनाइएको छ ।

याे पनि पढ्नुस  कञ्चनपुरबाट बिना मगरलाई मन्त्री बनाउन जोडदार माग

कार्यक्रममा सम्बोधन गर्दै मन्त्री मगरले महिलालाई उद्यमी नबनाएसम्म समृद्ध नेपाल बन्न नसक्ने बताइन् । पानीको व्यवसायमा महिलाहरुलाई आकर्षित गर्न मन्त्रालयले पूर्ण सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाइन्। महिलालाई उद्यमशील बनाउने कार्यमा लाग्ने एसियाली महिला विकास मञ्च र महिला उद्यमी महासंघ लगायतका संस्थाहरुलाई मन्त्री मगरले धन्यवाद प्रकट गरिन् ।

याे पनि पढ्नुस  एमाले कञ्चनपुरका अध्यक्षले बिना मगर एमालेकी उम्मेदवार भन्दा पड़कियो ताली

कार्यक्रममा मञ्चकी अध्यक्ष प्रमिला आचार्यले अबको दुई वर्षभित्र दुई सय वटा स्वच्छ पिउने पानीको उद्योग देशैभरि सञ्चालन गरिने जानकारी दिइन् । आर्थिक समृद्धि ल्याउने हो भने महिलालाई उद्यमशीलता बनाउनु अति जरुरी रहेको उनले बताइन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले वाणिज्य बैंकका नेपाल भरिकै शाखाहरुबाट १.६ प्रतिशत सहुलियतपूर्ण ब्याजदरमा महिलाहरुलाई ऋण लगानी गरिने प्रतिबद्धता जनाइन् । बैंकले दिने सस्तो ब्याज महिलाहरुकै क्षमता अभिवृद्धिका लागि रहेको उनले स्पष्ट पारिन् ।

कमेन्ट गर्नुहोस्