कञ्चनपुरकाे बेदकोटमा छाला प्रशोधन केन्द्र सञ्चालनमा

कञ्चनपुर, वैशाख २६ । सार्की समुदायको पुख्र्यौली पेशालाई जोगाउनका लागि कञ्चनपुर बेदकोट नगरपालिका–४ बैतोडामा छाला प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएको छ । विशुद्ध जैविक वस्तुहरुको प्रयोग गरी छाला प्रशोधनको कार्य अगाडि बढाउनका लागि केन्द्र सञ्चालनमा ल्याइएको हो । वन क्षेत्रमा सडेर जाने वनस्पतिका पातपतिङ्गर, चुना र नुनको प्रयोग गरी परम्परागत जैविक विधिबाट छाला प्रशोधनको कार्य भइरहको केन्द्रका सञ्चालक राजुराम भुलले बताए ।

पहिले हाम्रा पुर्खाले पहाडमा यो पेशा परम्परागत जैविक विधिको प्रयोग गरी छाला प्रशोधनको कार्य गरी जुत्ता बनाउने कार्य गर्दै आएका थिए । उनले भने, “बसाइँसराइका क्रममा सँगै तराई झरेपछि परम्परागत पेशालाई निरन्तरता दिन खोजेका छौँ ।”

विसं २०६४ मा बैतडा सामुदायिक वन र डब्लुटिएलसिपीको सहयोगमा छाला प्रशोधन केन्द्र सञ्चालन भए पनि विसं २०६७ को बाढीले प्रशोधन केन्द्र बगाएपछि कार्य सञ्चालन हुन सकेको थिएन । बेदकोट छाला प्रशोधन केन्द्र सञ्चालनका लागि बेदकोट नगरपालिकाले रु १५ लाखको लागतमा भवन निर्माण गरिएको छ । भवन निर्माणका लागि स्थानीयवासी गणेश भुलले १० धुर जग्गा निःशुल्क प्रदान गरेका छन् ।

“मेशिनरी जडानका लागि एब्लुडब्लु एफ, बेदकोट नगरपालिका, बैतोडा सामुदायिक वनले आर्थिक सहयोगका लागि वचन दिएका छन् । सम्झौता हुने प्रक्रियामा रहेको छ”, भुलले भने । पुर्खौंदेखि छालाको कार्य गर्दै आएका सार्की समुदायको जीविकोपार्जन गर्नका लागि सामूहिक उद्योग भएकाले यसको वैधानिकता कायम गर्नका लागि सरकारी निकायमा दर्ता गरेर अघि बढ्ने योजना रहेको दानी भुलले बताए ।

सुदूरपश्चिम प्रदेशकै पहिलो छाला प्रशोधन (केन्द्र) उद्योग भएकाले बेदकोट नगरपालकाले यसलाई गौरवका रूपमा लिएको छ, रङ्गी भुलले भने, “उद्योगले बेदकोट नगरपालिकालाई समृद्ध बनाउनमा टेवा पु¥याउनेमा विश्वस्त छौँ ।”

पछिल्लो चरणमा घरपालुवा पशुचौपाया पालनमा कमी आइरहेकाले केही चुनौती भने थपिएको छ । यद्यपि प्रदेशभर छाला सङ्कलन गर्नका लागि प्रदेश सरकारले कानून बनाएको खण्डमा उद्योग सञ्चालनमा बाधा नपुग्ने उनको भनाइ छ । चालू हालतमा रहेका शहर बजारका बधशालाहरूलाई व्यवस्थित गर्न सके मात्रै पनि उद्योगका लागि आवश्यक पर्ने कच्चापदार्थ काँचो पदार्थ छाला उपलब्ध हुन सक्ने स्थानीयवासी राजुरामले बताए ।उद्योगले परीक्षणका रुपमा अहिले छाला प्रशोधनको कार्य गरिरहेको छ । व्यावसायिक उत्पादन असोजदेखि शुरु गर्ने योजना रहेको बताइएको छ । उद्योगले व्यावसायिक उत्पादन शुरु गरेमा कम्तीमा १० देखि १४ जनाले रोजगारी पाउने सञ्चालकको दाबी छ ।

उद्योगबाट प्रशोधन भएको छालाबाट हस्तकलाका सामग्री बनाई विदेशमा निर्यात गर्ने उद्योग सञ्चालकहरु बताउँछन् । उद्योग सञ्चालनले कुहेर जाने छालाका कारण हुने वातावरण दूषित नहुने र छाला प्रशोधनपछि निस्कने फोहरबाट जैविक मल बनाउन सकिने भएकाले यसबाट कृषि उत्पादनमा समेत टेवा पुग्ने बताइएको छ । रासस

कमेन्ट गर्नुहोस्