काठमाडौंका नयाँ प्रहरी प्रमुखको दाबीः ‘टोले गुन्डाको हिसाबकिताब हुन्छ’

काठमाडौं, वैशाख २६ । काठमाडौं प्रहरी परिसर, टेकुको प्रमुखमा आएका नयाँ प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)उत्तमराज सुवेदीले टोले गुण्डाको हिसाब–किताब गर्ने दाबी गरेका छन् । परिसरको कमाण्ड सम्हालेपछि उनले अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउनु आफ्नो मुख्य उद्देश्य रहेको बताएका हुन् ।

‘गलत बाटोमा लागेकालाई पहिले सम्झाइ बुझाइ गर्ने हो । होइन भने टोले गुन्डाहरुको हिसाबकिताब हुन्छ’, उनले भने, ‘उम्रिदैका तीनपातेहरुविरुद्ध कानुनी कठोरता अपनाइन्छ ।’ यसअघि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सुरु गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमको संयोजकसमेत रहेका उनले आफ्नो दक्षता उक्त अभियानको क्षेत्रमा पनि प्रयोग गर्ने बताएका छन् ।

सुवेदी भन्छन्, ‘काठमाडौंमा अब नागरिक सहकार्यलाई झनै व्यापक बनाइन्छ । प्रहरी कार्यालयमा नागरिकले छुट्टै किसिमको रेस्पोन्स पाउनेछन् ।’ उनले आफूले प्रहरी कार्यालयमा सेवाग्राहीमैत्री वातावरण सिर्जनाका लागि पहल गर्ने बताए ।

वरिष्ठ उपरीक्षक सुवेदीले परिसरमा अघिल्ला नेतृत्वले ल्याएका कार्यक्रमको कार्यान्वयनलाई पनि जोड दिइने जनाए । अनलाइन खबरबाट साभार

कमेन्ट गर्नुहोस्