काठमाडौं, वैशाख २७ । भारतमा जारी महिला फुटबल लिगमा नेपाली फुटबल सावित्रा भण्डारीआवद्ध सेथु फुटबल क्लबले लगातार तेस्रो खेलमा पनि जीत निकाल्न सफल भएको छ । शुक्रबार बिहान भएको खेलमा सेथुले साई एसटीसी काटेक फुटबल क्लबमाथि ९–० गोलको फराकिलो अन्तरले पराजित गर्न सफल भयो ।
पहिलो दुई खेलमा टिममा परेकी सावित्रा शुक्रबार सुरुवातमा बेन्चमा बसेकी थिइन् । उनको स्थानमा अनिता बस्नेतलाई मौका दिइएको थियो । दोस्रो हाफमा वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेकी सावित्राले प्रवेश गरेको केही मिनेटमा नै गोल गरिन् । शुक्रबारको खेलमा भारतीय खेलाडी रतनबालाले व्यक्तिगत ४ गोल गरिन् । उनले खेलको तेस्रो, २८ औं, ७४ औं र ८९ औं मिनेटमा गोल गरिन् ।
यस्तै खेलको ८ औं र ८७ औं मिनेटमा सन्ध्याले गोल गरिन् । ८२ औ मिनेटमा सब्सिच्युट खेलाडी सावित्राले ग्रसीको क्रसलाई सदुपयोग गर्दै गोल गरिन् । उनले लिगमा गोल संख्या ६ पुर्याइन् । त्यसपछि सेतुले अर्को एक गोल थपेपछि नौ शून्यको भारी जित निकाल्यो । जारी प्रतियोगितामा लगातार तीन खेलमा जित हात पारेको सेतुले सेमिफाइनलको यात्रा बलियो बनाएको छ ।