अझै बन्न सकेन कोटेश्वर–कलंकी सडकखण्डमा आकाशे पुल

काठमाडौं, बैशाख २९ । कोटेश्वर–कलङ्की सडक खण्डमा आकाशे पुलःनिर्माणमा ढिलाइ भएको छ।

निर्माणाधीन आकाशे पुलको ठेक्का सम्झौताअनुसार गत पुसमा नै अवधि सकिएपनि अहिलेसम्म भौतिक प्रगति न्यून छ । ६ स्थानमा आकाशे पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । तीमध्ये ३ स्थानमा काम अघि बढ्न सकेको छैन ।

काठमाडौँ चक्रपथ सुधार योजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालका अनुसार तीन स्थानमा भने काम अघि बढेको छ । उनका अनुसार काम गर्ने स्थानमा अरु कुनै बाधा नभएपनि ठेकेदार आफैँले ढिलासुस्ती गरिरहेको हो ।

‘अवधि सकिएको ५–६ महिना हुन लाग्दा समेत जगको कामभन्दा अघि बढ्न सकेको छैन’, उनले भने । सडक निर्माणका क्रममा चीन सरकारले निर्माण गरेको तीन वटा आकाशे पुल अपर्याप्त भएपछि सरकारले थप पुल निर्माण शुरु गरेको थियो ।

चीन सरकारले गत माघमा नै नेपाल सरकारलाई ८ लेनको यो सडक हस्तान्तरण गरेको हो । त्यसभन्दा पहिले नै सरकारले थप छ स्थानमा आकाशे पुल निर्माण शुरु गरेको थियो । पुल निर्माण भएपछि झण्डै एकदेखि डेढकिलोमिटरको दूरीमा एउटा आकाशे पुल हुने छ ।

‘नौ ठाउँमा आकाशे पुल भएपछि यात्रुलाई सडक काट्न सजिलो हुनेछ’, उनले भने ।

सडक सुरक्षाका लागि सरकारले विभिन्न स्थानमा सडक चिह्न निर्माण गरिरहेको छ । सरकारले ८ लेन सडकको दायाँबायाँ गरेर दुवैतर्फ ‘सर्भिस ट्र्याक’ निर्माण गरिरहेको छ।

कमेन्ट गर्नुहोस्