काठमाडौं, वैशाख २९ । इन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनल खेलमा चेन्नई सुपर किंग्सविरुद्ध मुम्बई इन्डियन्सले टस जितेर ब्याटिङ रोजेको छ । यो वर्ष आइपीएलको फाइनल खेल हैदरावादमा नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि शुरु हुँदैछ । तीन–तीन पटकका विजेता चेन्नई–मुम्बईको खेल निकै रोमाञ्चक हुने अुनुमान गरिएको छ ।
जारी आईपीएल सिजनमा चेन्नई भन्दा मुम्बई बलियो देखिएको छ । यी दुई टिमले यो आईपीएलमा तीन खेलमा प्रतिस्पर्धा गरिसकेका छन् । तीनै खेलमा मुम्बईसँग चेन्नई पराजित भएको छ । लिग चरणको पहिलो होम खेलमा मुम्बईले चेन्नईलाई ३७ रनले पराजित गरेको थियो । अघिल्लो खेलमा पनि मुम्बईले चेन्नईलाई ४६ रनले पराजित गरेको थियो । त्यस्तै, क्वालिफायरको पहिलो राउण्डमा मुम्बईले चेन्नाईलाई ६ विकेटले पराजित गरेको थियो ।
लिग चरण र प्लेअफको हार फाइनलमा तिर्ने लक्ष्यमा चेन्नई रहेको छ । यता, मुम्बई भने फेरी चेन्नईलाई पराजित गर्दै उपाधि उठाउने लक्ष्यमा छ । प्लेअफको पहिलो क्यालिफयरमा चेन्नईलाई पराजित गर्दै मुम्बई फाइनलमा प्रवेश गरेको थियो । महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नई भने दोस्रो क्वालिफायरमा दिल्लीलाई हराउँदै फाइनल प्रवेश गरेको हो ।