प्रधानमन्त्री कपको मिति सारियो

काठमाडौं, वैशाख २९ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको मिति सारिएको छ । जेठ १ गतेदेखि २३ गतेसम्म कीर्तिपुरको टियु क्रिकेट मैदानमा हुने भनिएको प्रतियोगिताको मिति एक साता सारिएको हो ।

अब प्रतियोगिता जेठ ८ गतेदेखि शुरु हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अनुसार दैनिक रुपमा दुई वटा खेल खेलाउने उद्देश्यले प्रतियोगिताको मिति सारिएको हो । यसअघि टियु क्रिकेट मैदानमा दिनमा एक वटा मात्रै खेल खेलाउने योजना बनाएको थियो । तर, मुलपानी क्रिकेट मैदानमा पनि प्रतियोगिताको केही खेल आयोजना हुने भएपछि मिति सरेको राखेपले जनाएको छ ।

प्रधानमन्त्री कपमा ७ प्रदेश र तीन विभागीय गरी १० टिमको सहभागिता रहने छ । प्रतियोगिताको विजेता टिमले २० लाख नगद प्राप्त गर्नेछ । त्यस्तै, उपविजेता बन्ने टिमले १० लाख नगद प्राप्त गर्नेछ । त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल हात पार्नेछ भने उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५०–५० हजार नगद प्राप्त गर्नेछ ।

कमेन्ट गर्नुहोस्