काठमाडौं, बैशाख ३० । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी सोमबारदेखि ९९ वर्ष पूरा भई १०० वर्ष पुगेको उपलक्ष्यमा उनको सम्मान ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाले सार्वजनिक बिदा दिने भएका छन् ।
महानगरपालिका र नगरपालिकाका कार्यालय, वडा कार्यालयका साथै त्यहाँका सम्पूर्ण शैक्षिक संस्था र अन्य संघसंस्थामा सार्वजनिक बिदाको घोषणा गरिएको सूचना मार्फत जानकारी गराइएको छ ।
महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जोशी देशकै एक अनमोल रत्न भएकाले महानगरले सोमबार बिदा दिने तथा उनका नाममा उद्यान र सडक निर्माण गरिने निर्णय भएको जानकारी दिए ।
पाटन, बखुम्बहालका जोशीको शताब्दी जन्मोत्सवका उपलक्ष्यमा महानगरले यस वर्षभरि नै विभिन्न कार्यक्रम पनि आयोजना गर्ने भएको छ । गतवर्ष नै ललितपुर महानगरपालिकाले उनलाई एक सुरक्षाकर्मी, मोबाइल र सवारी साधन प्रदान गरेको थियो ।
यसैबीच ललितपुर महानगरपालिकाले सोमबार शताब्दी पुरुष सत्यमोहन जोशीको जन्म शताब्दीका अवसरमा विशेष कार्यक्रमको आयोजना पनि गरेको छ ।