मिडिया काउन्सिल विधेयक रोक्न सभामुख महरालाई नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

काठमाडौं, वैशाख ३० । नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता विरोधी प्रावधान राखिएको भन्दै मिडिया काउन्सिल विधेयक रोक्नका लागि सभामुखको ध्यानाकर्षण गराएको छ ।

महासंघको टोलीले सोमबार सभामुख कृष्णबहादुर महरालाई सिंहदरबारस्थित उनको कार्यकक्षमा भेटी प्रेस स्वतन्त्रता विरोधी प्रावधान रहेको विधेयक रोक्न ध्यानाकर्षण गराएका हुन्।

महासंघका अध्यक्ष गोविन्द आचार्यले मिडिया काउन्सिल विधेयक संचार क्षेत्रलाई पुर्णरुपमा सरकारको नियन्त्रणमा राख्ने ढंगले आएको भन्दै ती व्यवस्था हटाउनुपर्ने माग गरे ।

प्रेस काउन्सिलका कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठले मिडिया काउन्सिललाई सबै किसिमको नियन्त्रण गर्ने गरी सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको भन्दै त्यसलाई रोक्न सभामुखको ध्यानाकर्षण गराए । महासंघको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख महराले विधेयकबारे आफुले संचारमन्त्रीसँग छलफल गर्ने भन्दै राष्ट्रियसभाका अध्यक्ष र विषयगत समितिका सभापतिलाई भेट्न सुझाव दिए ।

संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकमा प्रेस स्वतन्त्रता विरोधी प्रावधान राखिएको भन्दै चरणवद्ध आन्दोलन घोषण गरेको महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको अंकुश लगाउने काम बन्द नभए अन्तराष्ट्रिय मिडिया मिसन बोलाउने चेतावनी दिदै आएको छ ।

कमेन्ट गर्नुहोस्