क्रान्तिकारीले नेतृत्व नपाएपछि विद्यार्थी नेताहरुको असन्तुष्टि

काठमाडौं, निकै लामो कसरतपछि सम्पन्न नेकपाका जनवर्गीय संगठनको एकताबारे पूर्व माओवादी केन्द्रको विद्यार्थी संगठनले असहमति प्रकट गरेका छन् ।

पूर्व माओवादी केन्द्रको प्रभावशाली मानिने जनवर्गीय संगठन अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले सार्वजनिकरुपमा नै अहिलेको एकता प्रक्रिया विधिसम्मत नभएको बताएका छन् । तामाङले विद्यार्थीको नेतृत्व पाउने दावी गर्दै आएका छन् । क्रान्तिकारीमा निर्वाचित अध्यक्षका रुपमा लोकप्रिय तामाङले सहसंयोजक पदमा नबस्ने समेत आशय व्यक्त गरेका छन् ।

नेकपा सचिवालयको बैठकले विद्यार्थी संगठनको नेतृत्व पूर्व एमालेको भागमा रहने निर्णय गरेको थियो । युवाको नेतृत्व भने पूर्व माओवादी केन्द्रले नै पाएको छ ।

रञ्जितसँगै क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले समेत अहिलेको एकताले विधि मिचेको बताए । सामाजिक सञ्जालमा अभिव्यक्ति पोख्दै बस्नेतले अहिलेको व्यवस्थाले निर्वाचित अध्यक्षलाई महासचिव भन्दा पनि तल राखेकोमा असहमति जनाएका छन् । उनले लेखेका छन्– “एकापट्टीको निर्वाचित अध्यक्षलाई अर्कापट्टीको अध्यक्ष मुनि मात्र हैन, उपाध्यक्ष मुनि समेत पनि हैन महासचिव भन्दा मुनी राखेर यदि त्यसैलाई विधि भनिन्छ भने त्यो अरुअरु कुरा होला कमसेकम विधि चाहिँ हैन ।”

जनवर्गीय संगठनको एकीकरणमा अन्य संगठनले भने सार्वजनिकरुपमा असहमति व्यक्त गरेका छैनन् । सचिवालय बैठकले एउटा संगठनको अध्यक्ष र अर्को संगठनको अध्यक्षलाई संयोजक र सहसंयोजक हुने गरी एकताको विधि तयार गरेको थियो । यद्यपी अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रमेश मल्लले भने यसलाई गलत नजिर बसाउन खोजेको संज्ञा दिएका छन् । उनले लेखेका छन्– नेतृत्वलाई सार्वजनिक सुझाव स्पाईला पिच्छे फरक मापद्ण्ड निर्माण गरेर कार्यकर्ता को हुर्मत लिने काम नगरियोस । विश्वासको धरातल कम्जोर भयो भने अहङ्कार को पर्खाल गर्ल्यामगुर्लुम ढल्न कुनै आइतवार कुर्नु पर्दैन ।

अखिल क्रान्तिकारीका अन्य नेता तथा कार्यकर्ताले समेत आफ्नो संगठनको नेतृत्वले संयोजक नपाएको असन्तुष्टि व्यक्त गरेका छन् । यद्यपी कतिपयले भने आफू अनुकुल हुँदा विधि मान्ने र नहुँदा त्यसको बिरोध गर्नु ठीक नभएको प्रतिक्रिया दिएका छन् । केहीको भनाई चाहिँ निर्वाचित अध्यक्ष भएको नाताले तामाङलाई विद्यार्थीको संयोजक बनाउनु पर्छ भन्ने देखिन्छ ।

तामाङले सहसंयोजकको जिम्मेवारी अस्वीकार गरेको खण्डमा क्रान्तिकारीबाट सुरेन्द्र बस्नेत सहसंयोजक हुने छन् । त्यो अवस्थामा बस्नेतको प्रतिक्रिया के हुन्छ भन्ने कुरा भने उनले बताएका छैनन् ।

जनवर्गीय संगठनको एकतासँगै नेकपाको एकीकरण प्रक्रिया दुई तिहाई जति पुरा भएको छ । जिल्ला नेतृत्वको टुंगो यसअघि नै लेनिन दिवसका दिन लागेपछि प्रदेशहरुले जिल्ला र मातहतका स्थानीय निकायको एकीकरण गर्ने काम शुरु गरेका छन् । कतिपय जिल्लामा जिल्ला कमिटीले पूर्णता पाएको छ ।

पोलिटब्यूरो गठनको प्रक्रिया भने अझै अवरुद्ध नै छ । हिजो बसेको सचिवालय बैठकमा नै पोलिटब्यूरो गठन गर्ने प्रस्ताव आएपनि पर्याप्त तयारी र आन्तरिक विवाद मिलाउन नसक्दा त्यो हालका लागि पर सरेको छ । यसैगरी विशेष जिल्ला कमिटि र सम्पर्क मञ्चको एकीकरण समेत बाँकी नै छ ।

जनवर्गीय संगठनको एकता

कमेन्ट गर्नुहोस्