गृहमन्त्री भन्छन्, ‘मदन भण्डारीको हत्यारा पत्ता लगाउने प्रक्रिया सुरू भएको छ’

काठमाडौं, जेठ ३ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्यारा खोजी प्रक्रिया सुरू गरिएको बताएका छन् । २६ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा मदन भण्डारी स्मृति बाटिका, कोटेश्वरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री थापा यस्तो बताएका हुन् । उनले छानबिन प्रक्रिया सुरू गरिएकाले छिट्टै हत्यारा पत्ता लाग्ने दाबी गरे । गृहमन्त्री थापाले भने, ‘नेता मदन भण्डारी र जीवराज आश्रितको हत्याबारे छानबिन गर्न हामीले प्रक्रिया थालेका छौं ।’

नेकपा एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको ०५० जेठ ३ गते चितवनको दास ढुंगामा जीप दुर्घटनामा परी निधन भएको थियो । जुन दुर्घटनालाई रहस्मय ठानिँदै आएको छ ।

मदन पत्नी विद्या भण्डारी राष्ट्रपति र उनका समकालीनले यतिबेला सत्ताको बागडोर सम्हालिरहेका छन् । तर, २६ वर्षअघिको रहस्मय जीप दुर्घटनाको तथ्य अहिलेसम्म सतहमा आउन सकेको छैन ।

कमेन्ट गर्नुहोस्