केही महिनाभित्र महाधिवेशन- प्रचण्ड

काठमाडौँ, जेठ ३ ।  नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबका केही दिनमा पार्टीको जिल्ला अधिवेशन गरी केही महीनाभित्र महाधिवेशन सम्पन्न गरिने योजना रहेको बताएका छन् ।

छब्बीसौँ मदनआश्रित स्मृति दिवस तथा पार्टी एकताको एक वर्षका सर्न्दभमा आज मदननगरमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले दुई पार्टी एकीकरणको प्रक्रिया थाल्दा तीन महीनाभित्र सम्पूर्ण प्रक्रिया पूरा गरिसक्ने योजना रहेको भएपनि प्राविधिक कारणले ढिलो भएको स्वीकारे ।

कार्यक्रममा अध्यक्ष दाहालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विकास भएका घटनाक्रम तथा अनुभवका आधारमा कम्युनिष्ट आन्दोलनलाई जनताप्रति उत्तरदायी बनाउनुपर्ने बताए ।

अध्यक्ष प्रचण्डले जनताको बहुदलीय जनवाद र २१ औँ शताब्दीको जनवादलाई नयाँ सश्लेषण गरी समाजवादतर्फ उन्मुख हुन सकिने बताएका हुन् ।

अन्तर्राष्ट्रिय रुपमा मार्क्सवाद सङ्कटमा परेको अवस्थामा मदन भण्डारीले तत्कालीन नेपाली समाजमा विद्यमान वर्ग सङ्घर्षलाई अन्त्य गर्न नयाँ विचारको प्रयोग गरेका कारण आफू लोकप्रिय भएको बताउँदै अध्यक्ष प्रचण्डले भने, “पुराना सिद्धान्तलाई समयसापेक्ष विकास गरी कम्युनिष्ट आन्दोलनमा भण्डारीले वैचारिक दृष्टिकोण दिनुभएको हो ।”

“नयाँ परिस्थितिअनुसार समाजको आवश्यकतालाई सम्बोधन गर्न सक्ने राजनीतिक रणनीति विकास गर्न सकेमा मात्र हामी वैज्ञानिक सश्लेषण गर्न समर्थ हुन्छौँ”, उनले भने ।

सङ्गठनको तल्लो तहसम्म जनतालाई जोड्ने र उत्पदनशील क्षेत्रमा लगानी गरी रोजगारी सिर्जना गर्ने, उनीहरुलाई विकास र समृद्धिको यात्रामा सहभागी गराउने अध्यक्ष दाहालको भनाइ थियो ।

कमेन्ट गर्नुहोस्