भारतीय टोलीद्वारा बाँकेकाे प्रहरी चौकीमा आक्रमणको प्रयास, ६५ राउण्ड हवाई फायर

काठमाडौं, जेठ ४ । बाँकेको नरैनापुर क्षेत्र शुक्रबार रातभर तनावग्रस्त भएको छ । प्रहरीले चरेस ओसारपसारको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेपछि सो क्षेत्र तनावग्रस्त भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले ६५ राउण्ड हवाई फायर गर्नु परेको छ ।

पाँच किलो चरेसहित पक्राउ परेका भारतीय नागरिकलाई छुटाउन दबाव दिँदै एक समूहले नरैनापुर गाउँपालिका ५ स्थित भगवानपुर प्रहरी चौकी घेराउ गरेको थियो । सो समूहले प्रदेश सांसद कृष्णा केसी ‘नमूना’सहितको टोलीमाथि पनि आक्रमण प्रयास गरेको छ ।

डिएसपी रमेशबहादुर सिंह नेतृत्वको टोलीले साँझ पाँच बजेतिर भारतीय नागरिक देवीविन विश्वकर्मालाई सीमा क्षेत्र नरैनापुरबाट चरेससहित पक्राउ गरेर ल्याएको थियो । त्यसको विरोधमा भारतीय नागरिकहरुको ठूलो समूह चौकी घेर्न आएको थियो ।

चौकी घेराउसँगै तोडफोड र ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन ६५ राउण्ड हवाई फायर गर्नुपरेको बाँके प्रहरीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । प्रहरीले हवाई फायर गरेपछि सो समूह तितरवितर भएको थियो । प्रहरी नायब उपरीक्षक सापकोटाका अनुसार शुक्रबार राति १२ बजेदेखि स्थिति नियन्त्रणमा आएको छ । यद्यपि थप घटना हुन सक्ने आशंकामा उच्च सतर्कता अपनाइएको छ ।

कमेन्ट गर्नुहोस्