गाडीमा आगजनी गर्ने २ जना पक्राउ

अछाम, जेठ ५ । मंगलसेन नगरपालिकाको गाडीमा आगो लाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । नगरपालिकाको परिसरभित्र पार्किङमा राखेको बा २ झ ३६९४ नम्बरको गाडीमा आगजनी गरेको आरोपमा अछाम मंगलसेन नगरपालिका वडा नम्बर १ का २ जनालाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार गाडीमा आगजनी गर्ने मंगलसेन नगरपालिका वडा नम्बर १ कुन्तीवण्डालीका १९ वर्षीय दीपेन्द्र जैगडी र यही ठाउँका १९ वर्षीय एकेन्द्रराज नाथलाई पक्राउ गरिएको अछामका प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले बताए ।

मंगलसेनमै गाडीमा आगजनी भएपछि स्थानीयमा त्रास फैलिएको थियो । प्रहरीले अनुसन्धान गरी अभियुक्त सार्वजनिक गरेपछि प्रहरीप्रति स्थानीयको भरोसा बढेको छ । पक्राउ परेका व्यक्तिले घटनामा केही अन्य व्यक्तिको पनि संलग्नता रहेको बताएको र उनीहरुको खोजिका लागि प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख शाहीले बताए ।

नगरपालिकाले पनि ५ सदस्यीय छानविन समिति बनाएर यो घटनाको अनुसन्धान गरिरहेको मंगलसेन नगरप्रमुख पदमबहादुर बोहराले बताए। गाडीमा गएको वैशाख ३१ गते राति सवा २ बजे आगजनी गरिएको थियो । यो गाडी नगरपालिकाले गएको वर्ष १ करोड २० लाख लागतमा खरिद गरेको थियो ।

कमेन्ट गर्नुहोस्