चन्द्रागिरि रेडक्रसभित्र देखिएको राजनीति अन्त्यका लागि सभापतिमा मेरो उम्मेदवारीः घिमिरे

काठमाडौं, जेठ १० । वि.सं. २०३० चन्द्रागिरी १२ बलम्बुमा जन्मेका राजेश घिमिरे सामाजिक अभियन्ता रहेका छन् । सहकारी क्षेत्र, रेयुकाई, सर्भिस सिभिल ईन्टरनेशनल र विभिन्न व्यापार व्यवसायमा लागेर चन्द्रागिरिको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेलेका घिमिरे सन् २००४ मा नेपाल रेडक्रम सोसाईटी पश्चिम भेग राजमार्ग उपशाखा (पभेरा)को संस्थापक उप-कोषाध्यक्ष र कोषाध्यक्ष भएर काम गरिसकेका छन् ।

अहिले उक्त शाखाको नाम परिवर्तन भएर नेपाल रेडक्रस सोसाइटी चन्द्रागिरि उपशाखा भएको छ। व्यक्तिको शासनलाई होइन विधिको शासनलाई सर्वपरी ठानेर नेपाल रेडक्रसको संस्थापक उप–कोषाध्यक्ष बनेका घिमिरे पछिल्लो समय रेडक्रसभित्र देखिएको राजनीतिलाई अन्त्य गर्न सभापति पदमा उम्मेद्वारी दिने तयारीमा रहेका छन् ।

हरेक ४–४ वर्षमा हुने पाँचौ कार्यसमितिको निर्वाचन भोलि (शनिबार) ११ बजेदेखि ४ बजेसम्म चन्द्रागिरिको बलम्वु माध्यामिक विद्यालयमा हुँदैछ।

कुल ४१० सदस्यले मतदान गर्न पाउने उक्त निर्वाचनका लागि अध्यक्षमा उम्मेद्वारी दिन लागेका सामाजिक अभियन्ता घिमिरेसँग गरेको कुराकानीको सम्पादित अंश–

० नेपाल रेडक्रस सोसाईटी चन्द्रागिरि उपशाखाको सभापतिमा तपाईँको उम्मेद्वारी किन ?

म एक सामाजिक अभियन्ता हुँ । सामाजिक क्षेत्रको माध्यमबाट चन्द्रागिरिको विकासका लागि मैले सभापतिमा उम्मेद्वारी दिन लागेको हो । म यस संस्थाको संस्थापक उप–कोषाध्यक्ष र कोषाध्यक्ष भएर यसअघि नै काम गरिसकेको मान्छे हुँ यस संस्थामा धेरै राजनीतिक भयो । यो राजनीति अन्त्य गरी आहतलाई राहत दिलाउने संस्थाको रुपमा रेडक्रसलाई विकास गर्नका लागि मैले सभापतिमा उम्मेद्वारी दिन लागेको हुँ ।

० तपाइलाई किन भोट दिने त ?

यस संस्था स्थापना भएको १६ वर्ष पुग्न लागेको छ । संस्थाभित्र धेरै राजनीति भयो उक्त राजनीतिको अन्त्यका लागि मेरो उम्मेद्वारी हो । रेडक्रसको अभियन्ता हेनरी डिउनाले रेडक्रसलाई राजनीतिक गर्ने थलो बनाउनुहुँदैन भन्ने कुरालाई सावित गर्दै स्वतन्त्र रेडक्रस निर्माण गर्ने मेरो उदेश्य हो । रेडक्रस राजनीतिक दलको भ्रातृ संस्थाको रुपमा विकास हुँदै गएकाले यसलाई हटाउनका लागि मलाई भोट दिन आग्रह गर्दछु ।

० तपाई विजयी हुनुभयो भने रेडक्रसलाई कस्तो बनाउनुहुन्छ ?

एकदमै राम्रो प्रश्न गर्नुभयो, अवश्य नै म सभापतिमा विजयी भयो भने रेडक्रसलाई राजनीति मुक्त रेडक्रस निर्माण गर्ने छु । रेडक्रस उपशाखाको स्थापना भएको १६ वर्ष पुगिसक्दा पनि अहिलेसम्म कार्यालय त परै जाओस् एउटा कोठा पनि छैन । म रेडक्रसको एउटा भवन निर्माणका लागि पहल गर्ने छु । यस्तै, युवा पुस्तालाई रेडक्रसको बारेमा जानकारी गराएर जतिसक्दो धेरै युवा सहभागिता बढाउँछु ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

चन्द्रागिरिभित्र पर्नसक्ने विपद्को सामना गर्न नेपाल रेडक्रस सोसाइटी चन्द्रागिरी उपशाखालाई राजनीतिमुक्त बनाउन मलाई भोट हालेर विजयी गराउन सबै मतदातालाई हार्दिक आग्रह गर्दछु । म विजयी भयो भने पद ओगटेर बस्ने तर काम नगर्ने व्यक्तिलाई पाखा लगाउँदै युवाहरुलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दछु ।

कमेन्ट गर्नुहोस्