प्रधानमन्त्री कपः आर्मीविरुद्ध प्रदेश २ को लज्जास्पद हार

काठमाडौं, जेठ १० । आजदेखि शुरु भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मीले शानदार विजयी शुरुवात गरेको छ । प्रदेश २ लाई १७१ रनले हराउँदै आर्मीले शानदार विजयी शुरुवात गरेको हो । 

आर्मीले दिएको २७९ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले ३१.४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १०७ रन मात्र बनाउन सक्यो । उसका लागि हरिशंकर शाहले सर्बाधिक २१, सम्साद शेखले १६, सुधिर चौधरीले १५, राशिद खानले नटआउट १४ र सुरज पटेलले ११ रन बनाए । अन्यको प्रदर्शन सम्झनलायक रहेन ।  

बलिङमा आर्मीका शाहव आलमले ४, शुसन भारीले ३, जितेन्द्र मुखियाले २ र कुशल मल्लले १ विकेट लिए । यसअघि, कीर्तिपुर स्थित टीयु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २७८ रन बनायो । उसका लागि लागि राजु रिजालले २ छक्का र ५ चौकाको मद्दतमा १०९ बलमा ९०, कप्तान विनोद भण्डारीले ९ चौकाको सहयोगमा ६१ बलमा ६६ रन बनाए ।

यस्तै, रोहितकुमार पौडेलले ४७, हरि चौहानले २६, करण केसीले ११ र शुसन भारीले नटआउट १२ रनको योगदान दिए । बलिङमा प्रदेश २ का हरिशंकर शाहले ३, राशिद खान, विशाल सुलिङ, बिवेक यादव र सम्साद शेखले एक–एक विकेट लिए । 

कमेन्ट गर्नुहोस्