प्रधानमन्त्री कपः आर्मीको लगातार दोस्रो जीत, प्रदेश १ को फराकिलो हार

काठमाडौं, जेठ १२ । काठमाडौं जारी तेस्रो संस्करणको प्रधानमन्त्री कप वान डे क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश १ विरुद्ध पनि त्रिभुन आर्मी क्लबले फराकिलो जीत निकालेको छ । सुशन भारीको ह्याट्रिक विकेट र राजेश पुलामीको उत्कृष्ट ब्याटिङले प्रदेश १ विरुद्ध पनि आर्मीले ११३ रनकाे फराकिलो जीत निकालेको हो ।

आर्मीले दिएको २०५ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले २६.५ ओभरमा सैब विकेट गुमाउँदै ९२ रन मात्र बनाउन सक्यो । उसका लागि राजन मगरले सर्बाधिक २६, मुकुन्द यादवले १८ र रवि रोयले १० रन बनाउनुबाहेक अन्यले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । बलिङमा आर्मीका शुसान भारीले ५.५ ओभरमा ५ रन दिएर ह्याट्रिक विकेट लिए । यस्तै,  करण केसीले २, हरिबहादुर चौहान, शाहव आलम र जितेन्द्र मुखियाले एकएक विकेट लिए । 

यसअघि टस जितेर ब्याटिङ रोजेको आर्मीले ४५.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २०४ रन बनायो । उसका लागि राजेश पुलामीले ५६, हरिबहादुर चौहानले ४१, कप्तान विनोद भण्डारीले ३०, करण केसीले २६ र कुशल मल्लले १६ रन बनाए । बलिङमा दिनेश कडेँलले ३, फिर्दोश अन्सारी, मुकुन्द यादव र सिद्धान्त लोहनीले २–२ विकेट लिए । प्रतियोगितामा आर्मीले पहिलो खेलमा प्रदेश २ लाई हराएको थियो ।  

प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिम गरी १० टोलीको सहभागिता छ । प्रतियोगिताको उपाधि जित्नेले २० लाख र उप–विजेताले १० लाख रुपैयाँ हात पार्ने छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले मोटर साइकल पाउने छन् । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५० हजार प्राप्त गर्ने छन् । एक हातले क्याच लिने दर्शकले ५० हजार रुपैयाँ पाउने छन् ।

कमेन्ट गर्नुहोस्