आईसीसी क्रिकेट विश्वकप मे ३० तारेखदेखि जुलाई १४ सम्म संचालन हुँदैछ । वर्तमान समयमा क्रिकेट निकै लोकप्रिय खले मानिन्छ तर यसको आरम्भ कहाँ र कसरी भएको थियो भन्ने बारेमा आधिकारिक जानकारीहरू उपलब्ध छैनन् ।
इतिहास खोतल्दै जाँदा सन् १५९८ मा इटालीका भाषाविद जोन फ्लोरियोले तयार पारेको शब्दकोश ‘ए वर्ल्ड अफ वर्ड्स’मा पहिलो चोटी ‘क्रिकेट ए विकेट’ भन्ने पदावली भेटिन्छ । यो नै हालसम्म फेला परेको सबैभन्दा पुरानो क्रिकेटको बारेमा लेखिएको दस्तावेज हो ।
यस खेलको प्रारम्भ १५ औं शताब्दीको अन्त्यतिर इंग्ल्याण्डमा भएको मानिन्छ । सुरुसुरुमा यस खेलमा प्रयोग हुने सामग्रीहरूको कुनै खास मापदण्ड थिएन । समयसँगै यस खेलमा प्रयोग हुने ब्याट, बल, र पिचमा परिवर्तन हुँदै आयो ।
प्राप्त जानकारीहरू अनुसार १७२० ताका क्रिकेटको ब्याटको आकार हकी ब्याट जस्तै थियो जुन १७५० सम्म आउँदा च्याप्टो र केही धारिलो हुन पुग्यो ।
त्यस्तै सुरुमा यस खेलमा प्रयोग हुने बल कपडा या ऊनबाट बनेको हुने गर्दथ्यो ।
यसरी फेरिँदै गए ब्याट, बल र पिच
हाल क्रिकेटमा प्रयोग हुँदै आएका ब्याट, बल र पिचको मापदण्ड सुरुदेखि नै यस्तो थिएन । समयसँगै नियम र मापदण्ड फेरिँदै आएर यिनीहरू वर्तमान स्वरूप्मा आएका हुन् ।
ब्याटसम्बन्धी नियम:
क्रिकेटसम्बन्धि नियमहरू बनाउने आधिकारिक संस्था एमसीसीले निर्धारण गरेको मापदण्ड अनुसार क्रिकेट ब्याटको लम्बाई ९६.५ सेमी भन्दा बढी हुनु हुँदैन । त्यस्तै यसको चौडाई पनि १०.८ सेमीभन्दा बढी नहुनु पर्ने नियम रहेको छ ।
तर यसको इतिहास भने बडो रोचक छ ।
फिल्डरलाई खेद्न ब्याटको प्रयोग
सन् १७२० ताका भेडा लखेट्न प्रयोग हुने लौरो नै ब्याटको रूपमा प्रयोग हुने गर्थ्यो । हुन त पहिलोपल्ट १६२० मा ब्याट प्रयोग भएको जानकारी पाइन्छ । त्यो बेला बललाई हिर्काउन मात्र नभई फिल्डरलाई हिर्काउन समेत प्रयोग गर्ने गर्थ्यो । त्यसबेला फिल्डरले क्याच गर्न खोज्दा ब्याट्सम्यानले उसलाई ब्याटले हिर्काउँदै लखेट्न पाउने नियम थियो ।
हकी ब्याटजस्तो क्रिकेट ब्याट
त्यसको लगभग १०० वर्षपछि ब्याट हकी ब्याट जस्तै थियो । यसको कारण के थियो भने त्यस ताकासम्म क्रिकेट भेडा चराउनेहरूले खेल्ने खेल थियो । र उनीहरू भेडा चराउँदा भेडा खेद्न प्रयोग हुने लौराले नै क्रिकेट खेल्ने गर्दथे ।
केही लाम्चो ब्याट
ब्याटमा १७५० सम्म अलिकति फेरबदल भयो । त्यस बेलाको ब्याट न हकी ब्याट जस्तो थियो न अहिलेको क्रिकेट ब्याट जस्तो । त्यस बेलाको क्रिकेट ब्याट केही च्याप्टो र धारिलो थियो । यसको ह्याण्डल भने केही लामो बनाइएको हुन्थ्यो ।
समयसँगै ब्याटको स्वरूपमा परिवर्तन आउँदै गयो । १७७४-९० को बीचमा प्रयोग हुने ब्याट धेरथोर आजभोलि प्रयोगमा आउने ब्याटजस्तै थियो । यसको तल्लो भाग केही गोलो हुने गर्दथ्यो भने लम्बाई केही बढी हुने गर्दथ्यो ।
एउटै काठबाट बनेको ब्याट
हुँदाहुँदा १८००-१८४० सम्म तल्लो भाग च्याप्टो हुँदै आयो । पुरै ब्याट एउटै काठबाट बनाइन थालेपछि यसको लम्बाई केही कम भयो । त्यस बेलाको क्रिकेट ब्याटको औसत वजन अढाईदेखि तीन किलो हुने गर्दथ्यो ।
त्यस बेलासम्म बलिङ्ग अन्डरआर्म अर्थात हात तल गरेर गरिने गर्थ्यो । १९०० बाट ओभरआर्म बलिङ्ग सुरु भएपछि बढी बलिया ब्याट बनाइन थाले ताकि तीव्र गतिमा आएको बलको प्रहार झेल्न सकोस । आजकल ब्याटहरू निकै चौडा बन्न थालेका छन् ।

बलमा आएको परिवर्तन
क्रिकेटको बलमा ब्यात्को तुलनामा निकै कम परिवर्तन आए। क्रिकेटसम्बन्धी नियम बन्न थालेदेखि बल धेरथोर उस्तै रहेको छ ।
बलसम्बन्धी नियम
१७७४ मा पहिलोपटक बलसम्बन्धि लिखित नियम पारित भयो । यस नियमले निर्धारित गरेको मापदण्ड अनुसार बलको वजन १५६ देखि १६३ ग्राम तथा गोलाई २२.४ देखि २२.९ सेमी हुनु पर्द ।
हेर्ने हो भने बितेका दुई सय ७५ वर्षमा क्रिकेट बलमा भने खासै फेरबदल भएको पाइन्न । सुरुमा ऊन या कपडाको बल प्रयोग हुने गरेको भए पनि पहिलो पटक सन् १७७४ मा छालाबाट बनेको बल प्रयोग हुन थालेको हो । त्यस बेला पनि बलमा कर्क, छाला र रबरको प्रयोग हुने गर्थ्यो जुन आज पनि जारी छ ।
रातो बल अब टेस्टमा मात्र
सन् १९७७ सम्म सबै फर्म्याटका क्रिकेटमा रातो बल प्रयोग हुने गर्थ्यो । तर अब यसको प्रयोग टेस्ट क्रिकेटमा मात्र हुने गर्दछ । यसमा प्रयोग हुने प्रमुख पदार्थ कर्क र छाला हो । सुरुदेखि यसको रङमा बाहेको खासै अन्तर आएको छैन । यो बल नयाँ हुँदा बढी स्विङ हुने गर्छ भने पुरानो भएपछि रिभर्स स्विङ हुने गर्दछ । यस्तो बल अब टेस्ट खेल्दा मात्र प्रयोग हुने गर्दछ ।
पहिलो पटक सेतो बल
पहिलो पटक सेतो बलको प्रयोग अस्ट्रेलियामा क्यारी पेकर सिरिजमा भएको थियो । १९७७ मा खेलिएको यस शृंखलापछि एक-दिवसीय क्रिकेटमा प्रयोग हुने बलमा सेतो र रंगीन कपडा प्रयोग हुन थाल्यो । अचेल सिमित ओभार्का फर्म्याटहरूमा यस्तो बल प्रयोग हुने गर्छ । सन् २०१५ देखि सुरु भएको डे-नाइट टेस्टमा भने गुलाबी रंगको बल प्रयोग हुन थाल्यो ।
पिचसम्बन्धी नियममा सामान्य फेरबदल
पिचको लम्बाईको कुरा गर्ने हो भने सुरुदेखि अहिलेसम्म यसमा जम्मा एक गज (यार्ड) को मात्र अन्तर आएको छ । सन् १७४४ सम्म पिचको लम्बाई २३ गज या २१.०३ मिटर हुने गर्दथ्यो पछि यसलाई संशोधन गरेर २२ गज अर्थात २०.११ मिटर लामो बनाइन थाल्यो जुन अद्यावधि कायम छ ।