गृहमन्त्री भन्छन्, ‘विप्लव समूहलाई राज्यले नियन्त्रण गर्छ र मूलप्रवाहमा पनि ल्याउँछ’

काठमाडौं, जेठ १३ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नेक्रवित्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले गरिरहेको गैरकानुनी गतिविधिहरुलाई समाधान गर्न सरकार लागि परेको बताएका छन् । सोमबार संसदमा बोल्दै गृहमन्त्री थापाले देशभर चन्द समूहले विस्फोट र आगजनी गरेको बताउँदै आइतबार साँझ भएको बम बिस्फोटमा मृत्यु भएकाहरु र पक्राउ परेकाहरु नेपाली नागरिकभन्दा पनि अपराधी रहेको बताए ।

‘नेकपा विप्लव भनिने उक्त समूह आव्हान गरेको तथाकथित बन्दले जनजीवन सामान्य रहेको छ,’ उनले भने, ‘बन्दको प्रभाव लामो दुरीका यातायात र शैक्षिक संस्थामा परेको छ । विभिन्न जिल्लामा भेटिएका बम र शंकास्पद वस्तु सेनाले निस्क्रिय पारेको छ ।’

उनले उक्त समुहलाई राज्यले नियन्त्रण गर्ने र वार्ता र संवादद्वारा एउटा मुल प्रवाहमा ल्याउने प्रक्रियालाई अगाडि बढाइरहेको प्रष्ट पारे । गृहमन्त्री थापाले बम बिस्फोटमा मृत्यु भएका र पक्राउ परेकाहरुलाई ‘गैर नागरिक’ भनेर गरेको टिप्पणीमा भने सांसदले आपत्ति जनाएका थिए ।

कमेन्ट गर्नुहोस्