विष्फोटमा मृत्यु भएका सामान्य नागरिक नभई घटनामा संलग्न हुन्ः गृहमन्त्री

काठमाडौं, जेठ १३ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले ‘विप्लव’ समूहको मूल निशाना उपत्यका बनेकाले शान्ति सुरक्षाको अवस्था सुदृढ बनाइएको बताएका छन् । संघीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिँदै उनले आइतबार राजधानीका विभिन्न स्थानमा भएका विष्फोटमा परी ४ जनाको मृत्यु भएको र ती सबै सामान्य नागरिक नभई घटनामा संलग्नहरु नै रहेको बताए ।

मन्त्री थापाले सो घटनामा घाइते भएकाको वीर अस्पताललगायत राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी पनि दिए । “काठमाडौँ महानगरपालिका–३२ नरेफाँटस्थित बुद्धिबहादुर सुनारको कोठामा खानतलासी गर्दा प्रहरीले बाँसका भाटा, ‘विप्लव’ समूहका पर्चा, मोटरसाइकलसहित सात जनालाई नियन्त्रणमा लिइएको छ, विभिन्न जिल्लामा शङ्कास्पद वस्तु भेटिएकामा निष्क्रिय पारी स्थिति नियन्त्रणमा लिइएको छ” उनले भने ।

जेठ ६ गते राति पाँचथरको मिक्लाजुङ गाउँपालिकामा नौ जनाको धारिलो हतियार प्रयोग भएको, एक जनाले आत्महत्या गरेको घटनाका विषयमा वरिष्ठ प्रहरी उपरीक्षकको नेतृत्वमा टोली खटिइ अनुसन्धान भइरहेको उनले बताए ।

मन्त्री थापाले दार्चुलामा वृद्ध महिलाको निधन भएको घटनामा शङ्कास्पद एकजनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्