क्रिकेट रंगशालाको बारमा स्थानीयद्वारा डोजर, धुर्मस–सुन्तली फाउण्डेशनका कर्मचारीलाई धम्की

चितवन, जेठ १५ । चितवनमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा लगाइएको बार केही स्थानीयले भत्काएका छन् । बुधबार विहान डोजरसहित आएका केही व्यक्तिले जस्तापाताले लगाएको बार भत्काइदिएका हुन् ।

बार भत्काउने क्रममा उनीहरुले धुर्मस–सुन्तली फाउण्डेशनका कर्मचारीलाईसमेत धम्की दिएका छन् । नेकपाका स्थानीय नेतासमेत रहेका प्रकाश कँडेल, धुर्मस–सुन्तली फाउण्डेसनको साइट कार्यालयका घरबेटी सुरेन्द्र विकसहितका व्यक्तिहरुले जस्ताको बार भत्काएको एक स्थानीयले बताए ।

याे पनि पढ्नुस  पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाः सहयोग जुट्न थाल्यो, आजै मात्र साढे ४ करोड रकम संकलन

उनीहरुले रंगशाला निर्माणको लागि लगाइएको जस्ताको बार मात्रै नभई कृषि तथा वनविज्ञान विश्वविद्यालयले लगाएको तारको जालीसमेत भत्काएका छन् । त्यस वरपरका रुखहरू ढलाएका छन् । ती व्यक्तिहरुले झण्डै एक किलोमिटर जति बार भत्काएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । साइटकै सुरक्षामा खटिएका दुई जना प्रहरीले खिचेको फोटो समेत डिलिट गर्न उनीहरुले धम्की दिएका थिए ।

याे पनि पढ्नुस  नेपालको पहिलो ‘अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ घोषणा, लागत ३ अर्ब

कृषि तथा वनविज्ञान विश्वविद्यालयका कर्मचारीहरुले खिचेको फोटोलाई पनि डिलिट गर्न धम्की दिएका थिए । घटनामा संलग्न भएको आशंकामा १६ जना पक्राउ परेका छन् । घटनामा संलग्न मुख्य व्यक्ति भनिएका प्रकाश कँडेलको खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दुर्गा रेग्मीले जानकारी दिए । बार भत्काउन प्रयोग गरिएको डोजर प्रहरीले नियन्त्रणमा लिएको छ । यो समाचार अनलाइन खबरबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्