‘गणतन्त्रलाई बलियो बनाउन निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ’

काठमाडौ., जेठ १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन निर्वाचन प्रणालीलाई परिवर्तन गर्नुपर्ने बताएका छन् । मानव अधिकार तथा शान्ति समाजले आज आयोजना गरेको ‘लोकतान्त्रिक गणतन्त्रको आधार, प्रेस स्वतन्त्रता र मानवअधिकार’ विषयको प्रवचन कार्यक्रममा उनले संविधान संशोधन गरेर देशको प्रमुख कार्यकारी प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्नेमा जोड दिए ।

पैसा नभएका नेताहरुले चुनावबाट भाग्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने उनको धारणा थियो । उनले भने, ‘पार्टी सङ्गठनमा निष्ठापूर्वक काम गर्ने व्यक्ति चुनावबाट डराउने अवस्थाको सिर्जना भयो ।’ उनले नागरिक समाजको भूमिकामा रहनुपर्ने व्यक्ति तथा संस्थाले पनि विभाजित भएर पार्टीगत धारणा राख्ने गरेकामा चिन्ता व्यक्त गरे ।

अर्को प्रसङ्गमा उनले मिडिया काउन्सिल विधेयक यथास्थितिमा पारित नहुने बताउँदै मिडिया र मानवाधिकारका विषयमा विधेयक ल्याउनुअघि पार्टीमा कुनै छलफल नभएको जानकारी दिए । मानवाधिकारलाई अङ्कुश लगाउने खालका विषयलाई सच्याएर संसद्मा लैजान पार्टीका तर्फबाट सुझाव दिइने उनले बताए ।

सो अवसरमा नेकपा स्थायी कमिटी सदस्य घनश्याम भुसालले नेपाली कांग्रेसले परिवर्तन ल्याउन सकेन भनेर आरोप लगाउने गरिए पनि नेपाल कम्युनिष्ट पार्टी पनि कांग्रेसभन्दा फरक बाटो हिँड्न नसकेको बताए ।

‘वर्तमान सरकारले दुई तिहाइको दम्भ त्याग्नुपर्छ’, उनले भने, ‘कांग्रेस पनि सङ्कीर्णताबाट अलग रहनुपर्छ ।’ उनले मानवाधिकार, प्रेस स्वतन्त्रता र नागरिक अधिकारलाई बलियो बनाउने विषयमा आफूहरु सचेत रहेको बताए । कांग्रेस नेता गगनकुमार थापाले गणतन्त्र आएपछि विभिन्न संस्थाको गरिमा झनै घट्दै गएको बताए । ‘हामी अदालत, प्रशासन र विश्वविद्यालयलाई समेत विवादित बनाउँदैछौंँ’, उनले भने, ‘यी संस्थाप्रति नागरिकको विश्वास र भरोसा घट्दै जानु दुःखको विषय हो ।’

उनले वर्तमान सरकारले लोकतान्त्रिक गणतन्त्रको शासन व्यवस्थालाई सुव्यवस्थित ढङ्गले सञ्चालन गर्न नसकेको आरोप लगाउँदै अर्थतन्त्र र सुशासनका पक्षमा वर्तमान सरकार कमजोर बन्दै गइरहेको बताए ।

नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डे, राजनीतिक विश्लेषक श्याम श्रेष्ठ, शान्ति समाजका सभापति उत्तम पुडासैनी, संस्थापक सभापति कृष्ण पहाडी, पूर्वसभापति डा गंगाधर अधिकारी, सचिव रत्नलक्ष्मी श्रेष्ठ र केन्द्रीय सदस्य नम्रता खरेलले शान्ति समाजले गणतन्त्र दिवसलाई प्रत्येक वर्ष उत्सवका रुपमा मनाउँदै आएको बताए ।

कमेन्ट गर्नुहोस्