११०६ सभासद्लाई संविधानसभा पदक, भ्रष्टाचार आरोपीदेखि विप्लवका नेतासम्म अटाए

काठमाडौं, जेठ १६ । सरकारले पहिलो र दोस्रो संविधानसभामा निर्वाचित सदस्यलाई ‘संविधानसभा पदक’ बाट विभूषित गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहकाबीच उहीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकोतर्फबाट पदकसहित सम्मान प्रदान गरेकी हुन् ।

पहिलो र दोस्रो संविधानसभामा निर्वाचित भई संविधान निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै एक हजार १०६ सभासद्लाई सम्मान गरिने छ । बिहान एक चरणको पदक वितरणको कार्यक्रम सकिएको र दिउँसो दोस्रो चरणको कार्यक्रम सञ्चालन हुनेछ ।

नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिशमा नेपालको संविधान भाग ३२ अन्तर्गत धारा २७७ को उपधारा १ बमोजिम नेपालको संविधान निर्माणमा योगदान पुर्याएबापत सभासद्लाई सम्मान गरिएको हो । पदक पाउनेको सूचीमा राष्ट्रपति विद्यादेवी भण्डारी पहिलो नम्बरमा छिन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदक प्रदान गरेर कार्यक्रम शुभारम्भ गरेकी थिइन् ।

पदक लिन सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र झलनाथ खनालसमेत शीतल निवास पुगेका थिए । हाल प्रतिबन्धित ‘विप्लव’ नेतृत्वको नेकपाका तीन नेताले पनि यो पदक पाउने भएका छन् ।

विप्लव नेतृत्वको नेकपाका नेता खड्कबहादुर विश्वकर्मा, सन्तोष बुढा मगर र उमा भुजेल पदक पाउने सुचीमा छन् । पदक पाउनेको सूचीमा भ्रष्टाचारको मुद्दा लागेका पूर्वमन्त्रीद्वय टेकप्रसाद गुरुङ र बद्री न्यौपाने पनि रहेका छन् ।

पदक लिन शीतल निवासमा संविधानसभाका सभासद्को उल्लेख्य सहभागिता रहेको थियो । नेपालको इतिहासमा पहिलोपटक विसं २०६४ चैत २८ गते र विसं २०७० मंसिर ४ गते दोस्रो संविधानसभाको निर्वाचन भएको थियो ।

कमेन्ट गर्नुहोस्