साउदी नागरिकको बन्धकमा रहेकी पौडेललाई दूतावासको पहलमा स्वदेश फिर्ता

रियाद, जेठ १६ । साउदी अरबको विमानस्थलबाटै स्थानीय नागरिकको बन्धकमा परेकी नेपाली महिलालाई दूतावासले उद्दार गरि स्वदेश फिर्ता गरेको छ । तीन बर्षदेखि साउदी अरबमा कार्यरत दाङ स्थाई घर भएकी मुमा कुमारी पौडेललाई दूतावासले उद्दार गरि स्वदेश फिर्ता गरेको हो ।

छुट्टीमा नेपाल गएर पुनः साउदी अरब फर्किँदा एरपोर्टबाटै एक अपरिचित साउदी नागरिकले बन्धक बनाई आफ्नो घरमा लगेको पौडेलले दूतावासलाई जानकारी गराएकी थिइन् ।

उनी आफूलाई जबर्जस्ती घरको काममा लगाएको, तलब न्यून दिएको र अकामा (बसोबास अनुमति पत्र) समेत नबनाइदिएको भन्दै नेपाल फिर्तीको पहल गरिदिन साउदी स्थित राजदूतावासको सम्पर्कमा आएकी थिइन् । दूतावासले स्थानीय प्रशासनको सहयोगमा उनलाइ उद्दार गरि आफ्नो सुरक्षित आवास गृहमा राखेर कानुनी प्रक्रिया पूरा गरि बुधबार नेपाल फिर्ता गरेको जानकारी दिएको छ।

नेपाल सरकारले रोजगारीका लागि घरेलु कामदारका रूपमा खाडी मुलुक जान श्रम स्वीकृत नदिए पछी भारत लगायत तेस्रो मुलुकको बाटो हुँदै नेपाली महिलालाई दलालले विभिन्न प्रलोभनमा पारेर खाडीका विभिन्न देशमा पुर्याउने, बेच्ने र अलपत्र पार्ने कार्य पछिल्लो समय बढेको छ।

कमेन्ट गर्नुहोस्